गएको एक महिने तीजले प्रस्ट पारेको छ कि हामीलाई आफ्नै नेपाली मन्दिरको आवस्यकता कति छ भनेर। हुन त देवी देवता मन्दिर कुनै एक जात वा साम्प्रदायको कदापी होईन, सबैका साझा हुन् र कसैले रोकटोक गर्न पनि सक्दैन।भगवान छन् भने पछि हामी केही सोच्दैनौ जान्छौ पुजाआजा गर्छौ।आस्था हो भगवान प्रतीको त्यसमा फलानाको मन्दिर भन्ने दिमागमै आउँदैन।
अस्ट्रेलीयामा नेपालीको जनसंख्या हरेक बर्ष क्रमैसँग बढेसँगै मठमन्दिरहरुमा पुजा गर्नेको नेपालीहरुको घुईचो पनि व्यापक हुन थालेको छ। जसलाई जहाँ पाएक पर्छ त्यहाँ पुगेका हुन्छन् ।

कुरो गरौ तीजकै। हिजो हरितालीका तीजको अन्तिम दिन यानिकी ब्रत बस्ने दिन मात्रै मोल्बोर्नका अधिकांश नेपाली मन्दिरको दर्शन गर्नलाई डेन्डेनङको शिव मन्दिर होस् या रकबैकको दुर्गा मन्दिर पुगे। समय मिलाएर आआफ्नो सहजता हेरेर पुजा गर्ने फर्किने क्रम दिनै भरी जसो रह्यो। त्यहाँको माहौल हेर्दा पक्कै हामीले हाम्रो आफ्नै मन्दिर भईदिएको भए कति रमाईलो हुने रहेछ भनेर आकलन लाउन सकिने अवस्था थियो। मन्दिर खुल्ने समय र मन्दिरमा रमाईलो गर्न मन हुनेले निर्धक्क भएर रमाईलो गर्नबाट बन्चीत हुने पो होकी भन्ने त्राहीले प्राय सबै आउने भक्तजनहरुको मन पोलेको थियो। कसैले केहीपो भन्छन् की नाँच गान गर्दा केही पो भनिहाल्लान कि भन्ने डर एकातीर राखेर मोबाईवाट गीत बजाएर नाँचेको देखिन्थ्यो। आफ्नै मन्दिर भएको भए सायद ठुलो मेला लाग्ने थियो होला आफ्नो मन्दीर नहुँदा तितरबितर भएर पार्कमै भए पनि मज्जैले रमाईलो गरेको देखिन्थ्यो।

रमाईलो गर्ने क्रममा एकजना दिदीले भनिन् आफ्नो मन्दिर हुने हो भने त रातभरी बसेर नाच्दै रमाईलो गर्दा नि हुन्थ्यो के गर्ने मन्दिर कति खेर बन्द गर्ने हुन् पुजारीले। यतिका नेपाली छन् मन्दिर किन नबनाएका होलान्। मैले जवाफ दिए मन्दिर बन्छ दिदी अव छिट्टै। मन्दिर बनाउन जग्गा पनि लिएको जानकारी आएको छ।केही बर्ष अगाडी पण्डित दिन बन्धु पोखरेलको उपस्थितीमा महापुराण लगाईएको थियो। त्यसबाट उठेको रकमले जग्गा खोज्ने कार्य भएको थियो। धेरै लामो रस्साकस्सी पछि गएको महिना जग्गा पाईयो है भनेर जानकारी आएको छ। अव कहिले सम्म बन्छ त्यो चाँही जानकारीमा छैन।
एकजनाले दिदीले पछाडीबाट थपिन्। खै यो छोरी नजन्मदै मन्दिर बनाउने कुरा आएको थियो।छोरी जन्मेर यत्री भई तर अझ सम्म बनाउन सकेका छैनन्। हैन असरल्लै ठुलो भवन नि किन पो चाहिन्थ्यो र। त्यहि महापुराण लगाए जस्तो घरलाई मन्दिरको स्वरुप दिएर बनाएका भए भई हाल्थ्यो। यसो पुजा आजा गर्ने यस्तै चाडबाढको बेला रमाईलो गर्ने आफ्नत्वो महसुस हुने ठाउँ भएभई हाल्थ्यो।हामी जहिले ठुलो आँट गर्छै अनि कुरै कुरैमा अल्झिएर बस्छौ।
कुरो ठिकै लाग्यो।
त्यस पछि मैले नेपाली कम्युनिटी सेन्टर बनाउने सङ्कल्प लिएको (एएनएमसी)अस्ट्रेलीयन नेल्पलिज मल्चिकल्चर कमियुनिटीका सचिव नारायण काफ्लेसँग प्रश्न तेर्साएँ- आखिरी कहिले सम्म बन्ला हाम्रो आफ्नै मन्दिर?
उहाँको जवाफ जस्ताको तस्तै –
साह्रै गहन प्रश्न हो यो ! हामी आफू बस्ने घर पनि ६-८ महिना सम्म बिभिन्न खाले घरहरु हेरेर किन्छौ, यो त नेपाली समुदाय सबैको घर हो, त्यसैले आबश्यक धेरै कुराहरु राम्ररी हेरेर मात्रै किन्न पर्ने हुनाले र दाताहरुले कबोल गरेको दान रकम हाम्रो खातामा जम्मा नभई सकेको हुनाले हामीले जग्गा किन्न अलिकति ढिला गरेका हौ ! ऐले त सम्पूर्ण नेपाली समुदायमा खुशीको खबर छ; हामीले एउटा घर सहितको १५ एकड़ ( करिब ६०,७०० बर्ग मिटर वा ८ वटा फुटबल ग्राउण्ड जत्रो) जग्गाको लागि मेलबर्न शहर नजिकै डिगर्स रेष्ट भन्ने ठाउँमा धरौटी बुझाई सकेका छौ र आउने नोभेम्बर महिनाको अन्त्य सम्ममा सो जग्गा सकार्ने हाम्रो योजना छ । सो जग्गा सकारिसके पछि कम्तिमा पनि हाम्रा कार्यक्रम (जस्तै पुजा आजा) गर्न काउन्सिल सँग अनुमतिको लागि निबेदन दिने छौ र सो घर लाई उक्त प्रयोजनको लागि उपयुक्त बनाउन र अन्य सुबिधा बढाउन समेत निबेदन दिएर अगाडि बढ्ने योजना छ।

तर, सो स्थितिमा पुग्न हामीसँग अझैपनि कम्तिमा ३-४ लाख डलर सम्म अपुग हुने हुनाले हामले पुन: समुदायसँग सहयोगको लागि अपिल गर्न चाहन्छौ ।
“यस भन्दा अगाडि सामुदायिक केन्द्रको लागि कुनै महानुभावले दान गरि सक्नु भएको छैन र सदस्य पनि बनि सक्नु भएको छैन भने हामी सँग हातेमालो गर्दै यस महा-अभियानमा साथ दिनुहुन र दान गरि सक्नु भएको छ र सदस्य पनि बनिसक्नु भएको छ भने थप केहि दान गरिदिई हाम्रो हौसाला बढाईदिनु हुन सदर अनुरोध गर्दछौ ।”
खरिद गरिएको जग्गा सम्बन्धि जानकारी एबम् सदस्यता अभियान कार्यक्रमको शुरुवात आउने सेप्टेम्बर १४ तारिख, शनिवारका दिन माता चिन्तापुर्णी मन्दिर, सेन्ट अलवान्स बाट शुरु गरिने हुँदा पायक पर्ने सबै उपस्थित भईदिनुहुन र थप जानकारीको लागि अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्र (ANMC)को फेसबुक पेजबाट जानकारी लिनुहुन समेत हार्दिक अनुरोध गर्दछौ !
यदि हाम्रो योजना मुताबिक़ पैसा उठ्यो र काम भयो भने, ढिलोमा आगामी तिजको पञ्चमी पूजा हामीले हाम्रै केन्द्रमा गर्ने छौ ।


