eNepal

आज आमाको मुख हेर्ने दिन

वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ । वैशाखकृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।

आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । उनका अनुसार पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान रहेको छ ।

आजको दिन दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिकामा रहेको थानकोट नजीकैको मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्छन् । आमा बित्नेले सके प्रत्येक वर्ष नसके एक पटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ । यसले गर्दा मातातीर्थको आकर्षण बढाएको छ ।

मातातीर्थको उत्पत्तिका सम्बन्धमा विभिन्न कथा प्रचलित छन् । त्यसमध्येको एउटा किंवदन्ती यस्तो छः धेरै वर्ष पहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्काे टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके, तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए ।

कथानुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले श्रद्धापूर्वक दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई मातातीर्थ नामकरण गरियो ।

यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो । आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ, ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।’

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’

‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।’

रासस

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal