eNepal

तराईको धार्मिक एवं सांस्कृतिक पर्वः सिरुवा पर्व

तराईको धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा रहेको सिरुवा पर्व आजदेखि विधिवत् शुरु भएको छ ।

नववर्षको आगमनका साथ कृषिमा आधारित यो पर्व दुई दिनसम्म मनाउने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बाली पनि भित्र्याउन गरिएको खुशीयालीमा ‘वैशाखी’ पर्व मनाउने गरिएको हो । आज पहिलो दिन सतुवाइन पर्वका रुपमा मनाउने गरिन्छ ।

पर्वका अवसरमा आज घरका देवीदेवतालाई प्रसादका रुपमा सातु चढाउने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यले अनिवार्य रुपमा सातु खाने गरिन्छ । आजको दिन सातुको प्रमुखता रहेकाले नै यस पर्वलाई ‘सतुवाइन’ भनिएको हो ।

पर्वको दोस्रो दिन विधिवत् रुपमा सिरुवा पर्व मनाउने गरिन्छ । सिरुवा पर्वका दिन अर्थात् आइतबार देवीदेवतालाई प्रसादका रुपमा ‘बासी भात’ चढाउने गरिन्छ । सो बासी भात आजै पकाउनुपर्छ । चुल्होलाई लिपपोत गरी माटाको नयाँ भाँडामा गृहिणीले भात पकाएर राख्ने गर्छन् ।

मैथिल समुदायका साथै थारू, राजवंशी, झाँगड, सतारलगायत समुदायले आआफ्ना संस्कृतिअनुसार पर्व मनाउने गर्छन् । आजका दिन मैथिल समुदायले आफ्ना आँगनमा रहेका तुलसीको बोटमा एक महिनासम्म निरन्तर रुपमा पानीको व्यवस्था गर्छ ।

बाँसको दुई खम्बा गाडेर तुलसीको बोटमाथि गाग्रो झुण्ड्याउने गरिन्छ । गाग्रोमुनिको भागमा सानो प्वाल पारेर कुश पसाउने गरिन्छ । गाग्रोमा भरिएका पानी थोपा थोपा तुलसीको बोटमाथि खस्ने गर्छ । वैशाख महिनाको गर्मीबाट तुलसीको बोटलाई सुक्न नदिने उद्देश्यले गरिएको यो विधि एक महिनासम्म जारी रहन्छ । आइतबार विधिवत्रुपमा सिरुवा पर्व समापन हुनेछ । रासस

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal