eNepal

साढे तीन लाख हेक्टर वन सखाप

वैशाख ८, २०७३- करिब दुई महिना अवधिमा विभिन्न जिल्लामा डढेलोबाट साढे तीन लाख हेक्टर वन विनाश भएको छ ।  फागुनदेखि वैशाख पहिलो सातासम्म तराई र चुरेको वन सबैभन्दा बढी डढेलोको चपेटामा परेको वन विभागका महानिर्देशक रेशमबहादुर डाँगीले बताए । अहिले पनि तराई र चुरेका विभिन्न जिल्लामा डढेलो जारी छ । तर, आवश्यक प्रविधि, उपकरण र तालिम प्राप्त जनशक्ति नहुँदा बेलैमा नियन्त्रण गर्न नसकिएको सरकारी अधिकारी बताउँछन् ।

‘तराई र चुरेमा ३ लाख ५० हजार हेक्टर वन विनाश भएको प्रारम्भिक अध्ययनले देखाएको छ,’ महानिर्देशक डाँगीले बुधबार कान्तिपुरलाई भने, ‘मध्य पहाडी जिल्लाका जंगलमा पनि डढेलो लागेको छ, तर त्यहाँ नगण्य क्षति छ, विवरण आउनेक्रम जारी छ ।’ डढेलोका कारण मरेका वन्यजन्तु, चराचुरुंगी र वनस्पतिको आकलन अहिलेसम्म गर्न सकिएको छैन ।

पछिल्लो अध्ययनअनुसार नेपालमा ६९ लाख ६० हजार हेक्टर वन छ । त्योमध्ये करिब १६ लाख हेक्टर वन तराई र चुरेमा फैलिएको छ । बढी डढेलो पनि त्यही क्षेत्रको जंगलमा देखिएको हो । उनका अनुसार सबैभन्दा बढी बर्दिया निकुञ्जभित्रको कोर एरियाको जंगलमा करिब ६० हजार हेक्टर र सिन्धुलीमा ५० हजार हेक्टर वन डढेलोबाट विनाश भएको छ । अर्घाखाँची र उदयपुरमा ११/११ हजार, कैलालीमा ५ हजार, रूपन्देहीमा १३ हजार, चितवनमा ७ हजार, दाङमा १७ हजार र डडेलधुरामा ५ हजार हेक्टर वन विनाश भएको छ ।
सर्लाहीमा सात हजार ५ सय, बाँके निकुञ्जको कोर एरियामा ३६ हजार, बाँकेको वन क्षेत्रमा ५ हजार, बर्दियामा २ सय ७८, डडेलधुरामा ५ हजार, इलाममा एक हजार ५ सय, रौतहटमा २ हजार, मकवानपुरमा ४ हजार २ सय र नवलपरासीमा ४० हजार हेक्टर वन डढेलोबाट विनाश भएको छ । विभिन्न वन कार्यालयले डढेलोको क्षतिसम्बन्धी विवरण विभागमा पठाउने क्रम जारी छ ।
‘राजमार्गसँग जोडिएका जंगलमा धेरै डढेलो लागेको देखियो,’ महानिर्देशक डाँगीले भने, ‘धेरै डढेलो जानी-जानी नयाँ घाँस पलाउने आशाले लगाउने गरेको पाइयो ।’

नेपालमा प्रायः फागुनदेखि जेठसम्म सबैभन्दा बढी डढेलो लाग्ने गरेको छ । एक/दुई दिनयता कहीं-कहीं हल्का वर्षा भएकाले डढेलो नियन्त्रणमा आएको जस्तो देखिए पनि पूर्णरूपमा नियन्त्रणमा आइनसकेको विभागले बताएको छ ।
दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका अध्यक्षसमेत रहेका डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले यो वर्षको डढेलो २० वर्षयताकै सबैभन्दा ठूलो भएको बताए । ‘नासाको तस्बिर र आँकडाले पनि २० वर्षकै इतिहासमा यो वर्ष डढेलोको चपेटामा परेको देखिन्छ,’ शर्माले कान्तिपुरलाई भने, ‘२०६६ सालमा पनि धेरै डढेलो लागेको थियो, त्यो पछि यो वर्ष धेरै डढेलो लाग्यो ।’ २०६६ सालको चैत महिनामा एकै दिन ४ सय २० ठाउँको जंगलमा डढेलो लागेको थियो भने यो वर्ष करिब दुई साताअघि एकै दिन ७ सय ३७ स्थानका जंगलमा डढेलो लाग्यो । डढेलोमा परेर यो वर्ष तीन जनाको मृत्यु भइसकेको छ । केही घाइते भएका छन् । जंगलबाटै सल्किएको डढेलोले कयौं घरसमेत नष्ट भएका छन् ।

विज्ञ शर्माले यो वर्षको डढेलो विगतको भन्दा सात गुणा बढी भएको दाबी गरे । ‘वैशाख दोस्रो र तेस्रो साता अझै डढेलो लाग्ने मुख्य सिजन हो,’ उनले भने, ‘त्यसैले सावधानी अपनाउनुपर्ने देखिन्छ ।’ उनले वन कार्यालयले जंगल छिर्ने व्यक्तिको अनुगमन गर्न सके सम्भावित डढेलो नियन्त्रण हुने बताए । उनका अनुसार अहिले पनि चितवनभन्दा पश्चिमतिर २३ ठाउँमा डढेलो लागिरहेको छ । बर्दिया र शे-फोक्सुन्डो निकुञ्जलगायत अन्य जंगलमा पनि डढेलो नियन्त्रणमा आउन सकेको छैन ।
एक अध्ययनअनुसार नेपालमा ६० प्रतिशतभन्दा बढी डढेलो जानी-जानी लाग्ने गरेको छ । ‘कतिपय डढेलो असावधानीवश पनि डढेलो लाग्ने गरेको छ,’ डाँगीले भने, ‘त्यसैले सचेतनाको स्तर बढाउनुपर्ने देखिन्छ ।’ जनचेतनाको अभावमा धेरै वनमा डढेलो लाग्ने गरेको जनस्तरमा सचेतना फैलाउनका लागि भन्दै वन मन्त्रालयले यो वर्षदेखि गत फागुन १६ देखि २२ सम्म देशैभरि वन कार्यालयमार्फत डढेलो सप्ताह पनि मनाएको थियो ।

यो वर्ष लामो समय खडेरी परेकाले जनवरीदेखि नै डढेलो लाग्न थालेको देखिन्छ । ‘समग्र एसिया नै सुख्खा भएकाले पनि डढेलोका घटना बढे,’ विज्ञ शर्माले भने ।

जनवरीमा ३१, फेब्रुअरीमा १ सय ७९, मार्चमा ७ सय ६ र अप्रिल २० सम्म १ हजार ७ सय ५५ स्थानमा डढेलो लागेको छ । डढेलोको प्रकोप बढदै गए पनि हामीकहाँ नियन्त्रण गर्ने प्रविधिको विकास भएको छैन । ‘स्याउला र पानीबाहेक अर्को विकल्प छैन,’ डाँगीले भने, ‘त्यसैले ठूला डढेलो नियन्त्रण गर्न सकिएको छैन ।’

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal