मिचेल मार्सको अलराउन्डर प्रदर्शनमा अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टीट्वेन्टी शृंखलामा पहिलो जित निकालेको छ।
बिहीबार सेन्ट लुसियाको ड्यारेन सामी नेसनल स्टेडियममा भएको चौथो खेलमा अस्ट्रेलियाले घरेलु टोली वेस्ट इन्डिजमाथि चार रनको रोमाञ्चक जित निकाल्दै पाँच खेलको शृंखलामा पहिलो सफलता हात पारेको हो । अष्ट्रेलियाले दिएको १ सय ९० रनको लक्ष्य वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन मात्र बनाउन सक्यो।
अन्तिम ओभरमा वेस्ट इन्डिजलाई जितका लागि ११ रन आवश्यक थियो। तर, अष्ट्रेलियन बलर मिचेल स्टार्कले ५ बलमा कुनैपनि रन खर्चेनन्। उनको अन्तिम बलमा रसेलले छक्का प्रहार गरेपनि वेस्ट इन्डिज जित निकाल्न सफल भएन। वेस्ट इन्डिजका लेन्डल सिमोन्सले ७२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। इभिन लेविसले ३१ रन जोड्दा कप्तान निकोलस पुरनले १६ रन बनाए।
त्यसैगरी फाबियन एलनले २९ रन जोड्दा आन्द्रे रसेलले अविजित २४ रन बनाए। बलिङमा अष्ट्रेलियाका मिचेल मार्सले ३ विकेट लिए। एडम जाम्पाले २ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो। अष्ट्रेलियाका मिचेल मार्शले ७५ रनको अर्धशतकीय इनिङ्स खेले।
कप्तान आरोन फिन्चले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा डान क्रिस्टियनले अविजित २२ रन जोडे। वेस्ट इन्डिजका ह्येडेन वाल्सले ३ विकेट लिए। ओसने थोमस आन्द्रे रसेल र फाबियन एलनले एक एक विकेट लिए।
यी दुई टोलीबीचको पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ । वेस्ट इन्डिज भ्रमणमा रहेको अष्ट्रेलियाले सिरिज भने यस अघि नै गुमाईसकेको छ । पाँच खेलको सिरिजमा वेस्ट इन्डिज ३–१ ले अघि रहेको छ।

