Let’s Help Nepal, Lets help “Mission Karnali” मुख्य नारा सहित अष्ट्रेलियाली नेपाली मेडिकल एण्ड डेंटल एसोसिएसन (ANMDA) र AussieMed को सहकार्यमा कर्णाली राज्यका कोभीड पिडीतहरुको सहयोगार्थ साउथ अस्ट्रेलीयामा मिसन कर्णाली फण्डरेज डिनर कार्यक्रम आयोजना गरिएको थियो।
सुदुर नेपाल कर्णाली प्रदेशका कोभीड पिडीतहरुलाई आर्थिक सहयोग गर्न कोष जुटाउने उदेश्यका साथ गरिएको सो कार्यक्रममा नेपाली समुदाय र अन्य समुदायका प्रोफेसरहरू, डाक्टरहरू, नर्सहरू र अन्य व्यवसायीहरु गरेर १३० जनाको उपस्थिती रहेको थियो। मुख्य अतिथीहरुमा सांसद बाइसोनी, लेवर पाटीका सांसद दाना र रसल वर्थली, सांसद जेन स्टिन्टसनले सहभागी जनाएका थिए।
कर्णाली अञ्चल नेपालको सबै भन्दा गरीब र दुर्गम क्षेत्र हो जुन सडक लगाएत अन्य स्रोत र साधनको पहुँचबाट टाढा रहेको छ। कर्णालीका अस्पतालहरुमा कोभिड १९ सँग लड्न पर्याप्त मानव संसाधन छैन।
दुर्गम क्षेत्रमा पर्ने कर्णालीमा भारतबाट प्रवेश गर्ने आप्रवासीको सङ्ख्या बढेसँगै कोरोनाको संक्रमण दर पनि उच्च रहेको र मेडिकल स्टाफहरुको कमीको कारण जनजिवन भयाबह बन्दै गएको छ।यो बिषम परिस्थितीमा आर्थीक सहयोग अत्यन्त जरुरी देखिएकोले कर्णालीलाई मुख्य प्राथमिकतामा राख्दै “मिसन कर्णाली” मार्फत सहयोग जुटाउने अभियान अगाडी ल्याइएको AussieMed Foundation का अध्यक्ष एबम् Australasian Nepalese Medical and Dental Association (ANMDA) का महासचिव डा. कुश राज श्रेष्ठले बताउनु भयो।
फण्ड रेज डिनर मार्फत बिस हजार डलर सङ्कलन गरिएको र कर्णालीमा कार्यरत डाक्टरहरूसँगको सीधा सम्पर्क मार्फत मेडिकल आवश्यकतामा रकम प्रयोग गरिने AussieMed Foundation का महासचिव दिपक बिष्टले जानकारी गराउनु भयो। पहिलो चरणमा परिक्षण किटको अलावा कर्णालीमा फर्केका प्रवासीहरूलाई स्क्रिन गर्न टेस्टिंग, ट्रेसिङ र उनीहरुको उपचारमा रकम खर्चिने कार्यक्रम रहेको छ।
आयोजक समितिका सदस्यहरुमा साउथ अस्ट्रेलीयाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दीपक धमला, एएनएमडीए संयोजक डा.अर्जुन बुर्लाकोटी , एनआरएनए कोअडीनेटर नवीन पन्त, राजु उपाध्याय र दीपक लामा रहनु भएको थियो।

