अस्ट्रेलीयाको सिड्नीबाट नेपालीलाई लिएर कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियामा रहनु भएका नेपाली आज फर्किदै छन्। नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५८ जना नेपालीहरु अष्ट्रेलियाको सिड्नीबाट काठमाडौँ फर्किन लागेका हुन् । यात्रुहरुलाई विदाई गर्न अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश राज दाहालपनि विमानस्थल पुग्नु भएको छ ।
नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौँतर्फ उडेको छ। सो जहाजमा चार महिनादेखि लकडाउन परेका नेपालीहरु रहेका छन् ।
अष्ट्रेलिया आएका अभिभावकहरु लगाएत न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि रहेका छन् । उनीहरु आजै बिहान न्यूजिल्याण्डबाट अष्ट्रेलिया आइपुगेका हुन् ।
नेपाल फर्किन १३ सय जनाले फाराम भरेका थिए । तर प्राथमिकताको आधारमा पहिलो चरणमा २५८ जनालाई काठमाडौँ पठाउन लागिएको दूतावासका अधिकारीहरुले बताएका छन् । टिकट भााडा भने २ हजार ३ सय ५० अष्ट्रेलियन डलर लिइएको छ ।
हवाई यात्रुहरु सबैको सबैको पीसीआर परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैले उनीहरुलाई नेपाल पुगेपछि होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टिनमा पठाइने दूतावास स्रोतले बताएको छ ।
नेपाल एयरलाइन्सको सो जहाजमा क्याप्टेन समझ कुमार श्रेष्ठ, क्याप्टेन श्रवण रिजाल, क्याप्टेन मनोहर कोल्हात्कर लगायत छन् । फ्लाइट अफिसरको रुपमा भोगेन्द्र कठायत, सन्जय पौडेल र प्रशान्त श्रेष्ठसमेत छन् ।
उनीहरु २९ जना अष्ट्रेलियन नागरिक तथा अष्ट्रेलियन स्थायी बासिन्दाहरुलाई बोकेर काठमाडौंबाट अष्ट्रेलिया आएका थिए । काठमाडौँस्थित अष्ट्रेलियन दूतावासको समन्वयमा ५ जना बच्चासहित २९ जनालाई बोकेर नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलिया आएको थियो र सोही जहाजमा अष्ट्रेलियामा रहेका नेपालीहरु फर्किन लागेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए । अष्ट्रेलियाबाट दोस्रो उद्धार उडान २७ जुनमा मेलबर्नबाट हुँदैछ ।
Photo: SK with Lens

