eNepal

घरमा बसि बसि पनि धेरै काम गर्न सकिन्छ :कोरोना सिकाएको पाठ

जेठ २७ मगलबार -कोरोना भाइरसको सन्त्रास नफैलिएको भए के हुन्थ्यो ? कार्यालयमा बिजुली-पानीको बिल बुझाउनेको लाम, सडकमा गाडीको जाम । बजारमा किनमेलको हतारो । आफन्त–छिमेकीको भोज-भतेरमा जानैपर्ने चटारो । दिनदिनै लुगाफाटो फेर्नुपर्ने, खल्तीमा अतिरिक्त पैसा जोहो गर्नुपर्ने ।

हतारो, कोलाहल, धूवाँ-धुलोको दिक्कलाग्दो कोलाज। तर, अहिले सर्वत्र शान्त छ । मानौं, सधैं ध्यान मुद्रामा एकचित्त भएर बसेका छन् ।
न कुनै हतारो, न कुनै चटारो । न पट्यारलाग्दो सडक जामको तनाव, न कतै धाउनुपर्ने अवस्था । न नयाँ लुगा फेरिरहनुपर्ने झन्झट, न खल्तीमा अतिरिक्त पैसा जोहो गर्नुपर्ने बाध्यता ।

कोरोना भाइरसले रोग मात्र बोकेर आएन, मानव समुदायलाई फरक ढंगले बाँच्न अभ्यस्त पनि गराइदियो । सबैजसो घरभित्र बसेका छन् । केही न केही इलम गरेका छन् । आफ्ना घर-बगैँचा स्याहारेका छन् । सागसब्जी रोपेका छन् । कोही फूल रोप्दैछन्, कोही गुन्द्रुक-सिन्की-अचार बनाउँदैछन् । कोही पुराना लुगाफाटो सिलाउँदैछन्-मिलाउँदैछन्, कोही नयाँ-नयाँ परिकार बनाउन सिक्दैछन् । कोही घरबाटै आफ्नो कार्यालय/कार्यथलोको काम गरिरहेका छन् ।

घरबाटै काम

खासगरी इन्टरनेटको माध्यमबाट हुने काम, कारोबार घरबाट पनि गर्न सकिने रहेछ । कतिपयले यतिबेला घरमा बसीबसी आफ्नो कामधन्दा गरिरहेका छन्। भौतिक रुपमा उपस्थित हुन नपर्ने कामहरु भर्चुअल माध्यमबाटै सम्पन्न हुन्छ ।

किनमेल गर्न पनि बजारसम्म पुग्नैपर्ने बाध्यता छैन ; सबैकाम अनलाइनबाटै गर्न सकिन्छ । अहिले कतिपय व्यापारिक कम्पनीहरूले अनलाइन अर्डर लिएर घर-घरमा सामग्री पुर्‍याउने सुविधा पनि दिएको छ। खानेकुरादेखि घरसायी सामग्री समेत अनलाइनमार्फत कारोबार गर्न सकिन्छ ।

कतिसम्म भने किराना पसलले समेत अहिले मोबाइलबाट सामग्री अर्डर लिएर घर-घरसम्मै पुर्‍याउने व्यवस्था गरेको छ।

बिजुली, पानी आदिको बिल भुक्तान गर्न पनि अनलाइनबाटै सकिन्छ । विगतदेखि नै यसको अभ्यास हुँदै आएपनि अहिले यो अरू बढी उपयोगी देखिएको छ ।

के भयो फाइदा ?

सम्भव र सहज भएसम्म घरबाटै काम गर्दा बढी फाइदा हुने देखिन्छ । कार्यालय-कार्यथलो धाउनैपर्ने बाध्यता नहुँदा घरबाट पनि आफ्नो कार्य-सम्पादन गर्न सकिने रहेछ ।

मितव्ययी बनाउँछ

सबैले अनुभव गरेकै छन्, अरू समयमा भन्दा अहिले व्यक्तिगत व्ययभार घटेको छ। खल्तीमा भएको पैसा कम खर्च हुने गरेको छ । सामान्य दिन हुँदो हो त घरबाहिर निस्कनासाथ खर्च गर्नुपर्ने हुन्थ्यो । यातायातमा खर्च, नास्तापानीमा खर्च, साथीभाइसँग चिया र चुरोटमा खर्च । घरबाहिर निस्किएपछि केही न केही कुरा खरिद गर्न मनलाग्, खानेकुरा होस् वा लुगाफाटो । दिनहुँ हिँड्दा लुगाफाटो मैलो हुन्छ । धुनका लागि पानी, साबुन, श्रम र समयको खर्च हुन्छ। जुत्ता फेर्नुपर्ने, गाडी, मोटरसाइकलका लागि इन्धन आदि शीर्षकमा व्यापक खर्च हुने गरेको थियो । अहिले यी सबै खर्च कटौती भएको छ । अतिआवश्यक त्यसमा पनि खाद्य सामग्री र औषधिजन्य सामग्रीबाहेक अरू किन्ने ठाउँ छैन । यसले हरेक परिवारलाई मितव्ययी बनाएको छ ।

फजुल खर्च कटौती

सामान्य अवस्थामा हामीले गर्ने फजुल खर्च अहिले रोकिएको छ। बालबच्चाका लागि चिप्स, कुरकुरे, चाउचाउ किन्नुपर्ने अवस्था कम भएको छ। बजारमा विलासिताको सामग्री देखे उठाउनुपर्ने अवस्था अहिले बन्दप्राय: नै छ । सिनेमा हेर्नुपर्ने, रेस्टुरेन्ट धाउनुपर्ने, घुमफिर गर्नुपर्ने, घरमा पाहुना निम्त्याएर जमघट गर्नुपर्ने जस्ता खर्चका स्रोतहरू अहिले सकिएका छन्। अहिले यस्ता फजुल खर्चबाट सबैजना बचेका छन् ।

समयको बचत

हिँडडुल गर्दा, गाडी पर्खेर बस्दा, यात्रा गर्दा, खाजा–नास्ता अर्डर गरेर बस्दा, बजारमा अलमल गर्दा, बिजुली–पानीको बिल भुत्तान गर्न पंक्तिमा उँभिदा, सिनेमा हेर्दा हाम्रा धेरैजसो समय नष्ट भइरहेको हुन्थ्यो । अहिले यावत् कुरामा हाम्रो समय बर्बाद भएको छैन । गाडीमा यात्रा गर्नुपर्ने, रेष्टुरेन्टमा खाजा मगाएर पर्खनुपर्ने, बजारमा अलमल गर्नुपर्ने जस्ता समयमा फटाफट काम गर्न सकिने स्थिती छ ।

अर्को फाइदा

घरमै बसेर काम गरिरहँदा वा घरबाट पनि आफ्नो काम जारी राख्दा अनावश्यक भिड, कोलाहाल र प्रदूषणबाट बच्न सकिन्छ।

अहिले सडकमा अनावश्यक भिड वा जाम छैन । कोलाहाल छैन । सर्वत्र शान्त छ । सडक दुर्घटनाको दर घटेको छ । एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधनका लागि बाटो खुला छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal