नेपाली मुलका दिवेश पोखरेल अमेरिकी सांगीतिक रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगेका छन्। उनको यो सफलतासँगै अमेरिकी आइडलमा नेपाल र नेपालीको पक्षमा अर्को नयाँ इतिहासको पाना थपिएको छ।
गत आइतबार साँझ उनले कान्सासको वाचितास्थित घरबाट उत्कृष्ट ७ का लागि सांगीतिक कोसेली प्रस्तुत गरेका थिए। पृष्ठभूमिमा हिमाल राखेर गितार बजाउँदै उनले जोन डेन्भरको सदाबहार गीत ‘टेक मी होम कन्ट्री रोड’ गाएका थिए। गीतको मर्मलाई इज्जत गर्दै आफ्नै पनमा उनले गाएको गीतले निर्णायकहरू लगाएत सबै दर्शक/स्रोताको पनि मन जितेको थियो।
दिवेश अमेरिकी आइडलको यो सिजनमा विभिन्न चरणमा उत्कृष्टता प्रस्तुत गर्दै उत्कृष्ट २० मा पुगेका थिए। अनलाइन भोटिङको यो पहिलो चरणमा तीन करोड ६० लाख मत पाउँदै उनी उत्कृष्ट १० मा पुगेका थिए।
स्टेज नाम आर्थर गन राखेका दिवेश पोखरेल अमेरिकाको कान्सास राज्यको विचितामा बस्छन्। विचिता अमेरिकाको मध्यपश्चिमी राज्य कान्सासको एक सानो सहर हो। सन् २०१४ मा आएका दिवेशले छोटो समयमै लामो सांगीतिक फड्को मारिसकेका छन्।

