ईपिङ वलर्ट नेप्लिज् कम्युनिटीले अस्ट्रेलिया डेको अवसर पारेर गत सोमबार २७ जनवरी को दिन “EWNC Australia Day Fete” भव्यताका साथ सम्पन्न गरेको छ। अरोरा टाउन सेन्टर पार्क, ईपिङमा दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म भएको कार्यक्रममा नेपाली लगाएत गैर नेपाली समुदायको बाक्लो सहभागिता रहेको थियो।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा भिक्टोरिया राज्यकी मन्त्री लिली डी एम्रोजियो तथा सिटी अफ विटल्सी काउन्सिलका काउन्सिलरहरु टम जोसेफ, लरी कक्स तथा क्रिस पाभ्लिडिसको उपस्थिति रहेको थियो।
प्रमुख आकर्षणको रूपमा चुङ्गी प्रतियोगिता र चप्पल फाल्ने प्रतियोगिता रहेको कार्यक्रममा बाल बालिकाको लागी फेस पेन्टिङ तथा रुमाल लुकाई पनि राखिएको थियो। खानाका पारखीहरूको लागी आयोजकको तर्फबाट फ्री ससेज सिजलिङ राखिएको थियो भने अन्य रेस्टुरेन्टहरूको स्टल तथा आइसक्रिम भ्यान पनि कार्यक्रम स्थलमा राखिएको थियो।
स्थानीय कलाकार कुमार महर्जन तथा उहाँका साथीहरूले मादल र सारङ्गीको धुनमा सहभागीहरूलाई नचाउनु भएको थियो भने जुम्मा डान्समा पनि सहभागीहरू भरपुर मनोरञ्जनका साथ नाचेका थिए।
आयोजक संस्था ‘ईपिङ वलर्ट नेप्लिज् कम्युनिटी‘ले पहिलाको कार्यकारी समितीलाई सम्मान कार्यक्रम पनि राखेको थियो।
कार्यक्रमको मुख्य प्रायोजकको रूपमा मल्टी डाईनामिक मल्बोर्न रहेको थियो। त्यसै गरी विशेष प्रायोजकहरूमा कोस्टको, लेकाली रेस्टुरेन्ट र बेटर चोईस मोर्गेज एण्ड फाईनान्स रहेका थिए।
साथै बिएमडब्लु कन्सल्ट्यान्सी, न्यु कन्सेप्ट फाईनान्स र बुद्द टुर्स एण्ड ट्राभलले विभिन्न खेलकुदका गतिविधिहरूको प्रायोजन गरेका थिए।



