सागर भुर्तेल, सिड्नी
अष्ट्रेलियाको क्यानबेरामा रहेको नेपाली राजदूतावासले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम सम्बन्धी विभिन्न अनलाइनमा आएका समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
दूतावासले अष्ट्रेलियामा भ्रमण वर्ष शुभारम्भका कार्यक्रम सम्बन्धमा केही अनलाइन पोर्टलमा प्रकाशित समाचारमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
‘नेपाल भ्रमण वर्ष २०२० को औपचारिक कार्यक्रम भएपश्चात सहभागीहरु भ्रमण वर्षको प्रचार प्रसारका लागि सर्कुलर की देखि सिड्नीको प्रमुख पर्यटकिस्थल ओपेरा हाउस सम्म जाने क्रममा ओपेरा हाउसका सुरक्षा गार्डले आफ्नो व्यवस्थापन समितिसँग सम्पर्क नगरुन्जेलसम्म पर्खन अनुरोध गरेका थिए,’ दूतावासले अष्ट्रेलियामा नेपाल भ्रमणवर्ष प्रचार प्रसारमा रोक भन्दै आएको समाचारको खण्डन गर्दै भनेको छ, ‘व्यवस्थापनबाट खबर आएपश्चात् सहभागीहरू सहजरूपमा ओपेरा हाउससम्म पुगी पुनः सर्कुलर कीमा फर्किएका थिए । यही विषयलाई तोडमरोड गरी केही अनलाईन न्युज पोर्टलहरूमा माननीय मन्त्रीलाई अष्ट्रेलियन प्रहरीले रोकेको भन्नेजस्ता भ्रामक र नकारात्मक समाचारहरू प्रकाशित भएकोप्रति खेद व्यक्त गर्दै अष्ट्रेलियाको कुनै पनि सुरक्षा निकायबाट कार्यक्रमको दौरान कुनै किसिमको अवरोध सिर्जना नगरिएको साथै कार्यक्रम आयोजनाका लागि सिड्नी सिटी काउन्सिलबाट सहमति प्राप्त भएको स्पष्ट पार्न चाहन्छौँ ।’
दूतावासले नेपाल सरकार र राजदूतावासको पूर्वनिर्धारित कार्यक्रमअनुसार न्यु साउथ वेल्स राज्यका लागि नेपालको अवैतनिक महावाणिज्य दूतावासद्धारा आयोजित सो कार्यक्रम पूर्वनिर्धारति भएको समेत स्पष्ट पारेको छ ।
स्मरण रहोस्, अष्ट्रेलियाली जनता आगोको पीडामा परिरहेको बेला नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि पर्यटनमन्त्री अष्ट्रेलियामा भ्रमण वर्षको प्रचार-प्रसारका लागि गएको भन्दै सामाजिक संजालमा आलोचना भइरहेको बेला तथा यस सम्बन्धमा दूतावासको आधिकारीक धारणा बाहिर आवोस् भनेर माग गरिरहेका बेला दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

