अष्ट्रेलियामा जारी बिगबास लिग (बिबिएल)अन्तर्गत शनिबार भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्स विजयी भएको छ। मेलवर्न मैदानमा भएको खेलमा स्टार्सले मेलवर्न रेनेगेड्सलाई ८ विकेटले पराजित गर्यो।
१ सय ४३ रनको लक्ष्य पछ्याउँदै रेनेगेड्सविरुद्ध जवाफी ब्याटिङ गरेको स्टार्सले १८ दशमलव ५ ओभरमा मात्रै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। स्टार्सका म्यार्कुस स्टोनीजले सर्वाधिक ६८ रन तथा ग्लेन म्याक्सवेल ४० रनमा अविजित रहे।
बलिङतर्फ स्टार्सका नेपाली लेग स्पिनर सन्दिपले किफायती वलिङगर्दै ४ ओभरमा मात्र २६ रन खर्चेर तीन विकेट लिए। योसँगै सन्दिपले यस सिजन जारी लिगमा ६ विकेट लिन सफल भएका छन्।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रेनेगेड्ले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो। जितसँगै मेलबर्न स्टार्स १० अंकसहित लिगको शीर्ष स्थानमा यथावत रहँदा आफ्ना कुनैपनि खेल जित्न नसकेको रेनेगेड्स शून्य अंकसहित लिगको अन्तिममा छ।

