तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) को एकै संस्करणमा तीन स्वर्णको र्याट्रिकसहित ऐतिहासिक कीर्तिमान कायम गरेकी जलपरी गौरिका सिंहले चौथो स्वर्णपदक जितेकी छन् । उनले सोमवार सातदोबाटोस्थित हिटिङ स्वीमिङ पुलमा भएको १०० मीटर फ्रीस्टाइल पौडीमा भारतलाई पराजित गर्दै स्वर्णपदक जितेकी हुन् ।
यस रेकर्डसँगै तेक्वान्दो खेलाडी दीपक विष्टसँग स्वर्णपदक बराबरी गरेकी उनी एकै सागमा सर्वाधिक स्वर्ण जित्ने नेपाली खेलाडी बनेकी छन् । विष्ट सागका चारओटा संस्करणमार्फत चारओटा स्वर्णपदक जित्दै सागमा सर्वाधिक स्वर्णपदक जित्ने पहिलो नेपाली बनेका थिए ।
गौरिकाले निर्धारित दूरी ५८ मिनेट १३ सेकेन्डमा पूरा गरेकी थिइन् । प्रतिस्पर्धी भारतकी शिवांगी शर्माले गौरिकाभन्दा २ सेकेन्ड ढिलो उक्त दूरी पार गर्दै रजतपदक प्राप्त गरिन् । सागको इतिहासमा हालसम्म कुनै पनि नेपाली खेलाडीले एकै संस्करणमा दुईभन्दा बढी स्वर्णपदक जित्न सकेका थिएनन् ।
यसअघि गौरिकाले बिहीवार २०० मीटरको फ्रीस्टाइल र शुक्रवार २०० मीटरकै ब्याकस्ट्रोक पौडीमा स्वर्णपदक जितेकी थिइन् । आइतवार पनि भारतकी शिवांगी शर्मालाई नै हराएर उनले ४०० मीटर फ्रीस्टाइल पौडीमा स्वर्णपदक जितेकी हुन् । यसै संस्करणको सागमा उनले २÷२ ओटा रजत र कास्यसहित जम्मा आठओटा पदक जितेकी छन् ।
१७ वर्षीया पौडी खेलाडी गौरिका लन्डनमा बस्छिन् । १४ वर्षको उमेरमा उनी रियो ओलम्पिक २०१६ को पौडी खेलमा सहभागी हुँदा सबैभन्दा कान्छी खेलाडीका रूपमा चर्चामा आएकी थिइन् । यसअघि उनले गत वैशाखमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदअन्तर्गत २३औं पौडी प्रतियोगितामा ६ नयाँ कीर्तिमानसहित १२ स्वर्णपदक जितेकी थिइन् । त्यसअघि २०६५ मा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीमा करिश्मा कार्कीले १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी थिइन् ।

