अष्ट्रेलियाको मेल्बोर्नमा भएको ऋचा मेमोरियल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सगरमाथा क्रिकेट क्लबले जितेको छ ।आइतबार सम्पन्न भएको अन्तिम खेलमा सगरमाथा क्रिकेट क्लबले रोयल राइनो क्रिकेट क्लबलाई ४१ रनले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो।।
सगरमाथाका अभिनाश पटेलले ४ ओभर बलिङको स्पेलमा २४ रन खर्चेर ४ विकेट र १९ रनको योगदान दिएका थिए।टस हारेर ब्याटिङको निम्तो पाएको सगरमाथाले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ४४ रनको योगफल बनाएको थियो ।
१ सय ४५ रनको जवाफी रूपमा ब्याटिङ गर्न मैदानमा आएको रोयल राइनोले १८ दशमलव ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय तीन रनमा समेटिदा ४१ रनको हार बेहोर्दै उपाधि जित्न चुक्यो ।
११ अक्टोबर देखी पाँच सातासम्म अष्ट्रेलियामा आयोजना भएको ऋचा मेमोरियल टि–२० क्रिकेट प्रतियोगितामा ८ टोलीको सहभागी रहेको थियो ।
बिजेता सगरमाथा क्रिकेट क्लबले १५ सय अष्ट्रेलियन डलर प्राप्त गर्नुका साथै ट्रफी, मेडल प्राप्त गर्यो ।प्रतियोगिताको म्यान अफ द सिरिज दिपेन राइमाझी, उत्कृष्ट बलर किरण कडेल, उत्कृष्ट बलर सुनित अर्याल र उत्कृष्ट विकेट किपर दिनेश सुवेदी घोषित भएको प्रतियोगिताका निर्देशक बिजय धितालले जानकारी गराए ।
प्रतियोगिता नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठको छोरी ऋचा श्रेष्ठको सम्झनामा र वर्तमान नेपाली क्रिकेटको स्तरलाई अझै माथि पु–याउनुका साथै क्रिकेटको बिकासमा दरिलो सहयोग पु–याउनका निमित्त अष्ट्रेलियाको मेलवर्नमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक सुदिप न्यौपानेले जानकारी गराए ।
सगरमाथा क्रिकेट क्लबको आयोजना र भिक्टोरिया नेप्लिज क्रिकेट एसोसियसनको सहकार्यमा मेलबर्नको भिक्टोरियामा क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।
दुई महिना अगाडि अष्ट्रेलियामा क्यान्सरबाट देहावसान भएकी ऋचा श्रेष्ठ नेपाल क्रिकेट संघ क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठको छोरी हुन्, भने नेपाली राष्ट्रिय क्रिकेटर युनिल श्रेष्ठ र मन्जित श्रेष्ठका बहिनी पनि हुन् ।
स्वर्गीय ऋचाको सम्झनामा र बिदेशमा बस्दै आएका नेपाली क्रिकेट खेलाडीहरुको प्रतिभालाई निखार्नका निमित्त प्रतियोगिताको आयोजना गरिएको भिक्टोरिया नेप्लिज एसोसिएसनका अध्यक्ष तथा स्वर्गीय ऋचा श्रेष्ठका श्रीमान विवेक श्रेष्ठले जानकारी दिए ।
अगामी बर्षहरुमा यो प्रतियोगिताले निरन्तरता पाउने पनि श्रेष्ठले हामीलाई जानकारी गराए ।

