डढेलोका कारण अस्ट्रलियाका २ राज्यलाई ‘संकटकाल’ घोषणा गरिएको छ । न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा संकटकालको घोषणा गरिएको हो।
मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको ज्यान गएको छ भने हजारौं विस्थापित भएका छन्।
ती दुई राज्यहरूका एक सय २० भन्दा बढी स्थानमा ठूला झाडीहरूमा डढेलो लागेको बीबीसीले जनाएको छ ।
मंगलवार देशको सबैभन्दा ठूलो सहर सिड्नीमा एकदमै खराब खालको खतरा उत्पन्न हुनसक्ने त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आगलागीका कारण न्यू साउथ वेल्समा ९ लाख ७० हजार हेक्टर भूमि प्रभावित भएको छ भने एक सय ५० घरहरू नष्ट भएका छन्।
क्वीन्सल्यान्डमा ९ वटा घरहरू नष्ट भएको बताइएको छ।
“हामी सबैले यस विषयमा सतर्क रहनुपर्छ र कुनै पनि हालतमा सुस्तता आउन दिनु हुँदैन,” न्यू साउथ वेल्स राज्यकी प्रमुख ग्लाडिस बेरेजिक्लियनले भनिन्।
जलवायु परिवर्तनका कारण आगलागीलाई बल पुगेको भन्ने आलोचनाको प्रतिक्रियामा अस्ट्रेलियाको अनुदार सरकारले त्यसको खण्डन गरेको छ।
‘कालो शनिवार’ भनेर चिनिने एउटा प्रकोपपश्चात् एक दशक अघि आगलागीको खतराबारे त्यहाँ नयाँ मापदण्ड बनाइएको थियो।
त्यसयता पहिलो पटक न्यू साउथ वेल्सका अधिकारीहरूले आगलागी खतराको तहमा पुगेको चेतावनी जारी गरेका छन्।

