बिगत लामो समयबाट प्रतिक्षारत र सबैको चासोको बिषय भिक्टोरीयामा रहेका नेपालीहरुको आफ्नै सामुदायीक केन्द्र बनाउने प्रकृया लगभग अन्तिम चरणमा पुगेको छ। धेरै लामो कसरत अनि सय भन्दा बढि ठाउँमा गरिएको खोज र अनुसन्धान पछि अन्ततः अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष डा. चन्द्रदिपक पोखरेलको नेतृत्वको समुहले 100 Duncans Lane, Diggers Rest, क्यालडर फ्रिवेको नजिक जग्गा उपलव्ध भएको जानकारी नेपाली कम्युनिटी सेन्टरको अफिसियल पेज मार्फत हिजो जानकारी गराईएको छ। १५ एकडमा फैलिएको सो जग्गा मेल्बोर्न सि बि डीबाट ३३ किमी, क्रेगीबनबाट २७ किमी, डेन्डेनङबाट ६९ किमी र होपर क्रसिङबाट ३५ किमीको दुरीमा रहेको छ।
हाल सम्म कोषमा जम्मा र प्रतिबद्दता भएको रकम १.४ मिलीयन डलर रहेको छ तर जग्गा खरिद गर्नलाई १.५ मिलीयन डलर लाग्ने जानकारी गराईएको छ। स्टाम्प ड्युटी सहित १६ लाख डलर लाग्ने र यसको लागि छ महिनाको समयावधी तोकिएको छ।
तत्कालै मर्मत सम्भार गरेर दुई सय जना बस्न मिल्ने हल बनाउन सकिन्छ भने ठुलो एरियामा डाईनिङ, किचन र लन्ज एरिया पनि बनाउन सकिने जानकारी उक्त प्रेसमा जनाईएको छ। यद्यपि यसका लागि मन्दिर बनाउने लगाएत अन्य विभिन्न धार्मीक कार्यक्रम गर्न भने पूर्वस्वीकृति लिनुपर्नेछ।
सम्पुर्ण सदस्य, दाता, संरक्षक, परामर्षदाता, सामुदायिक सँघ सँस्था, समुदायका अगुवा, साईट सेलेक्सन कमिटी लगाएत सम्पुर्ण समुदायका सदस्यहरु धेरै धन्यबादका पात्र हुन अनि भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको लागि ऐतिहासिक क्षण हो भन्दै बधाई पनि दिईएको छ।
अब बन्न लागेको सामुदायीक भवन हामी सबै नेपालीहरुको हो तसर्थ यसको सदस्य बनेर यो महान कार्यको हिस्सा बन्न सम्पुर्ण भिक्टोरीयाबासी नेपालीहरुलाई अनुरोध गरिएको छ।
स्मरण रहोस् सामुदायिक केन्द्र बनाउनकै लागि गएको बर्ष पन्डित दिनबन्धु पोखरेलको उपस्थितीमा मेल्बोर्न सप्ताह भव्यताका साथ सम्पन्न भएको थियो।

