अस्ट्रेलिया जाने तयारीमा रहेकी प्रेमिकालाई छुरा प्रहार गरी हत्या गरेका दिनेश भट्टराईलाई अदालतले जन्मकैद सुनाएको छ । भेट्ने बहानामा प्रेमिकालाई बोलाएर छुरा प्रहार गरी हत्या गर्ने विराटनगर १० का ३० वर्षीय दिनेश भट्टराईलाई अदालतले आजीवन जन्मकैदको फैसला गरेको हो । भट्टराईले २०७५ भदौ १ गते जरुरी काम परेको भन्दै भेट्न बोलाएर २३ वर्षीय शिखा घिमिरे माथि छुरा प्रहार गरी निर्मम हत्या गरेका थिए । जिल्ला अदालत मोरङका न्यायधिस नारायण प्रसाद शर्माको एक्लो इजलासले अभियुक्त भट्टराईलाई आजीवन जन्मकैद र पीडित परिवारलाई १ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।
पहिले जन्मकैद सजाय हुँदा २० बर्षसम्ममात्र जेल बस्नुपथ्र्यो । तर नयाँ फौजदारी अपराध संहिता २०७४ लागू भएपछि भने जन्मकैद फैसला भएकाहरू बाँचुञ्जेल जीवनभर जेलमा बस्नुपर्छ । भट्टराईले ग्रामथान गाउँपालिका ३ सिद्राहास्थित फलैँचामा धारिलो हतियार(छुरा) प्रहार गरी शिखाको निर्मम हत्या गरेका थिए । फलैँचामा बसेको बेला दिनेशले टाउको, घाँटी, पेटलगायत शरीरको विभिन्न भागमा छुरा प्रहार गरेका थिए । शिखाको हत्या गर्नुअघि खुट्टाको एलर्जी ठिक हुन्छ भन्दै दिनेशले विष खुवाएको पनि खुलेको थियो । उक्त घटना देखेपछि गाउँलेहरूले नै घेरा हालेर दिनेशलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुभाएका थिए ।
दिनेश डिप्रेसनको सिकार थिए । नियमित औषधी सेवन गरिरहेका दिनेश र शिखा डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जाने तयारीमा थिए । भिसा नआएसम्म काठमाडौँमा बसेर ब्युटिपार्लरको तालिम लिने सल्लाह अनुसार शिखा काठमाडौँ जाने अघिल्लो दिन(भदौ १)मा नै दिनेशले उनको हत्या गरेका थिए ।

