नेपाल बाट उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जाने नेपाली युवायुवतीहरूको लर्को नै लागेको छ । अध्ययनका लागी अस्ट्रेलिया हजारौँ विद्यार्थी गलत सल्लाह सुझावका कारण शैक्षिक अन्योलमा परेका घटनाहरू बेलाबखतमा आइरहेका हुन्छन् । ती घटनाहरू सेलाउन नपाउँदै फेरी हजारौँ नेपाली विद्यार्थी समस्यामा परेका छन् ।अस्ट्रेलियाको इन्टरनेसनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी (एआइबिटी इन्टरनेसनल) कलेज बन्द भएको छ । मङ्गलवार अस्ट्रेलियन सरकारको शैक्षिक निकाय अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी(आस्क्वा)ले कलेज खारेजी निर्णय गरेको हो । उक्त निर्णय गरे सँगै त्यहाँ अध्ययन गर्ने हजारौँ नेपाली विद्यार्थी अलपत्र परेका छन् ।
अस्ट्रेलियन सरकारको शैक्षिक निकायले यो निर्णय गरेता पनि सम्बन्धित निकायले माथिल्लो निकायमा पुनरावलोकन गर्ने अधिकार भने रहन्छ। तीन महिनाअघि एकै नामको एआइबिटी कलेजको नर्सिङ निकायको दर्ता हुन नसक्दा र खारेजीमा पर्दा हजारौं नेपाली विद्यार्थी अलपत्र परेका थिए। दुवै कलेज एकै व्यक्ति र संस्थाबाट सञ्चालित रहेको तथ्य सार्वजनिक भएको छ। यसरी पटकपटक नेपाली विद्यार्थीहरूको संख्या अधिक भएका यस्ता कलेजहरूको दर्ता खारेजीले उनीहरूको भविष्यमाथिनै खेलवाड गरेको देखिन्छ।
एआइबिटी र एआइबिटी इन्टरनेशनल एकै स्वामित्वमा रहेका दुई भिन्दाभिन्दै कलेज हुन्। यस अघि डिप्लोमा अफ नर्सिङ पढ्ने नाममा सम्बन्धित निकायको सम्बन्धन नै प्राप्त गर्न नसकेको कलेजमा पढेका हजारौं नेपाली विद्यार्थी अहिले पनि खारेजी र त्यसको असरमा झुलिरहेको परिस्थितिमा पुन: सोही नामको इन्टरनेशनल कलेज बन्द भएपछि हजारौं विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । यतिखेर झन्डै पचास हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत छन्। एआइबिटी इन्टरनेशनल कलेजको खारेजीपछि त्यहाँ अध्ययनरत हजारौं विद्यार्थीको भविष्य के हुने भन्ने विषय पुन: सोचनिय बनेको छ।
यसअघि कलेजको खारेजी र स्टे अर्डरको चक्करमा विद्यार्थीहरू रुमल्लिरहेका छन्। पुन: एआइबिटीको खारेजीको असरमा अरु हजारौं नेपाली विद्यार्थीहरू पर्ने देखिएका छन्।
सेतो पाटीको सहयोगमा

