eNepal

१० वर्षमा साढे ६ हजार नेपालीको वैदेशिक रोजगारीको क्रममा मृत्यु

वैदेशिक रोजगारीमा गएको समयमा ज्यान गुमाउने नेपाली कामदारको संख्या बर्सेनि बढ्दै गएको सरकारी तथ्यांकमा देखिएको छ। 

आर्थिक वर्ष २०६५/०६६ देखि चालु आर्थिक वर्षको ११ महिनासम्ममा वैदेशिक रोजगारीमा गएका ६ हजार ४ सय २१ पुरुष र १ सय ४३ जना महिला गरी ६ हजार ५ सय ६४ जनाको मृत्यु भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्यांकमा उल्लेख छ। उक्त १० वर्षको अवधिमा ३२ देश पुगेका ती नेपाली कामदारको मृत्यु भएको हो।

बोर्डको तथ्यांकलाई आधार मान्ने हो भने रोजगारीमा गएका नेपालीमध्ये दैनिक सरदर दुई जनाको मृत्यु हुने गरेको छ। 

रोजगारीमा गएका नेपाली कामदारको मृत्यु हुने क्रम वर्षैपिच्छे बढ्दै गए पनि मृत्युको यथार्थ कारण पहिचान गरी समाधान गर्नेतर्फ सरकारको ध्यान गएको पाइँदैन।   

विदेशमा ज्यान गुमाउने कामदारको मृत्युको विभिन्न ५ वटा कारण खुलाएर शव नेपाल झिकाउने गरिन्छ। प्राकृतिक मृत्यु, आत्महत्या, सडक दुर्घटना, कार्यस्थल दुर्घटना र हृदयघातमध्ये कुनै कारणले ज्यान गुमाएको पोस्टमार्टम गरी शव नेपाल ल्याइन्छ। 

बोर्डको तथ्यांक अनुसार, ५० प्रतिशतको प्राकृतिक मृत्यु, २० प्रतिशतको सडक दुर्घटनामा, १० प्रतिशतको आत्महत्या तथा हृदयघातबाट मृत्यु भएको उल्लेख गरिन्छ भने २० प्रतिशत मृतकको कुनै कारण खुलाइएको हुँदैन। कारण नखुलेका कतिपय नेपाली कामदारको भने आफ्नै देश वा अन्य देशबाट रोजगारीमा आएका साथीसँग झगडाका कारणले ज्यान गुम्ने गरेको बोर्डको अनुमान छ। 

रोजगार प्रवर्द्धन बोर्डका अनुसार, हावापानी, खानपान तथा काम र आरामको सन्तुलन नमिल्दा विदेशमा कामदारको ज्यान जाने गरेको छ। विदेशमा ज्यान गुमाउनेमध्ये बहुसंख्यकको मृत्युको कारण मुटुसम्बन्धी समस्या हुनेगरेको विभिन्न अध्ययनमा उल्लेख गरिएको छ। जसलाई प्राकृतिक मृत्यु भने गरिन्छ। 

मुटु रोगसँगै सडक दुर्घटनामा पनि धेरैले ज्यान गुमाउने गरेका छन्। रोजगारीमा गएका कतिपय कामदारले एयर कन्डिसन (एसी) समेत चलाउन नजान्नु र अत्यधिक मदिरा सेवन गर्नु पनि मृत्युको कारण बन्नेगरेको बोर्डका निर्देशक धीरकुमार श्रेष्ठ बताउँछन्। 

रोजगारदाता देशका सडकको अवस्था र ट्राफिक नियमबारे थाहा नहुँदा कामदार दुर्घटना परी मृत्यु हुने गरेको निर्देशक श्रेष्ठले बताए। 

‘जेब्राक्रसमा कसरी बाटो पार गर्ने र अत्यधिक गर्मी हुने ठाउँमा एसीलाई न्यूनतम कतिमा झार्नुपर्छ भन्ने जस्ता विषयमा कामदारलाई ज्ञान हुँदैन’, श्रेष्ठले भने, ‘यो विषयमा सरकारले रोजगारीमा जानु अगाडि नै कामदारलाई बुझाउन आवश्यक छ।’ 

मलेसिया, साउदी र कतारमा धेरैको मुत्यु 

बोर्डको तथ्यांक अनुसार बितेका १० वर्षमा मलेसिया, साउदी र कतारमा धेरै नेपाली कामदारले ज्यान गुमाएका छन्। सो अवधिमा मलेसियामा २ हजार ५ सय ५५ पुरुष र ३१ जना महिलाले ज्यान गुमाएका छन्। साउदीमा १ हजार ८ सय ८ जना पुरुष र ३ जना महिला, कतारमा १ हजार २ सय ९५ जना पुरुष र ९ जना महिला, युएईमा ४ सय ७० पुरुष र ३५ महिलाको मृत्यु भएको छ। 

यस्तै, कुवेतमा १ सय ६३ पुरुष र ४० महिला, ओमनमा ४८ पुरुष र ३ महिला, दक्षिण कोरियामा ९४ पुरुष गरी ३२ देशमा ६ हजार ५ सय ६४ जनाको ज्यान गएको बोर्डको तथ्यांकमा छ।

मलेसिया र खाडीका ५ देशमा सबैभन्दा धेरै नेपालीको मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख छ। यी देशमा मात्रै कुल मृतकमध्ये ९० प्रतिशतको ज्यान जाने गरेको छ। चालू आर्थिक वर्षको ११ महिनामा मात्रै ६ सय ६६ पुरुष र १६ महिलाको मृत्यु भइसकेको छ। 

सरकारले मृतक भएका कामदारका लागि गत १० वर्षमा विभिन्न देशबाट गरी १ खर्ब ४५ अर्ब १८ करोड ८४ लाख क्षतिपूर्ति भराएको छ। 

विगत १० वर्षमा १० हजारभन्दा बढी कामदार अंगभंग, बिरामी र घाइते भएर स्वदेश फर्किएको बोर्डले जनाएको छ।  

कामदारले अभिमुखीकरण तालिम नपाउँदा बढी क्षति 

वैदेशिक रोजगारीमा जाने कामदारलाई तालिम दिन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले एक सय १६ वटा अभिमुखीकरण संस्थालाई मान्यता दिएको छ। तर, कतिपय संस्थाले अभिमुखीकरण तालिम नै नदिई प्रमाणपत्र दिने गरेका छन्। 

राम्रो अभिमुखीकरण तालिम नपाउँदा पनि रोजगारीमा जाने कामदार विदेश पुगेपछि समस्यामा पर्ने र दुर्घटनावश ज्यान जाने गरेको छ। 

अभिमुखीकरण तालिम दिने संस्थाका प्रतिनिधि र मेनपावर कम्पनीले कामदारलाई विदेश पठाउने र उनीहरूसँग रकम असुल्ने ध्याउन्न मात्र राख्ने गरेका छन्। 

यस्ता संस्थाले राम्रो तालिम र सूचना प्रवाह गर्न नसक्दा पनि विदेशमा कामदारले ज्यान गुमाइरहेको सरोकारवालाको भनाइ छ। अभिमुखीकरण तालिम दिने संस्थाले कस्तो तालिम दिइरहेका छन् भनेर सरकारले अनुगमन नगर्दा पनि लापरवाही भइरहेको उनीहरु बताउँछन्।

प्रभावकारी तालिम मार्फत वैदेशिक रोजगारसम्बन्धी सूचना प्रवाह गरिए मृत्यु र अंगभंग हुने क्रम घट्दै जाने ती सरोवारवालाको भनाइ छ। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal