अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (ANMC) ले हालको संरचनाको नवीकरण गर्दै परिसर भित्र रहेका मुर्तीहरुको प्राण प्रतिष्ठा एबम् मुर्ती स्थापना बिशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
गएको २५, २६ र २७ अगस्टका दिन बिहान ९ बजे देखी अपरान्ह ५ बजे सम्म 100 Duncans Lane, Diggers Rest को परिसर भित्र हिन्दू देवताका मुर्तिहरूलाई जीवन शक्तिसहित अभिषेक गर्ने ऐतिहासिक र महत्वपूर्ण कार्यक्रम थियो। कार्यक्रममा भिक्टोरियामा रहेका नेपाली समुदाय र अन्य बहुसांस्कृतिक समुदाएका सयौं पाहुना, स्वयंसेवक, सामुदायिक अगुवा र सदस्यहरुको सहभागिता रहेको थियो ।

नेपाली संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने एकमात्र उद्देश्यका साथ २०१४ मा स्थापित गैर-लाभकारी संस्था नेपाली सामुदायिक केन्द्रले यो कार्यक्रम आयोजना गरेको थियो। संस्थाले हिन्दू मन्दिर, बौद्ध मन्दिर र बहुउद्देश्यीय हल सहितको नेपाली सामुदायिक केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ । यसले भर्खरै भिक्टोरियन राज्य सरकारको आर्थिक सहयोगमा गुरु योजनाको पहिलो चरण पूरा गरेको छ।
२३ अगस्टमा कलश यात्राबाट सुरु भएको प्राणप्रतिष्ठा २७ अगस्टका दिन औपचारिक कार्यक्रम, मूर्तिको औपचारिक उद्घाटन र आरती गरी समापन भएको थियो । तीन दिनसम्म चलेको उक्त कार्यक्रममा २ हजारभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको अन्तिम दिन आगन्तुक र बालबालिकाका लागि विभिन्न कार्यक्रम राखिएको थियो जसमा जम्पिङ क्यासल लगायतका बालबालिकाका अन्य गतिविधि थिए । त्यस्तै आगन्तुकहरूलाई भण्डारा (प्रसाद) बितरण गरिएको थियो। मेलबर्नमा बसोबास गर्ने धेरै परिवारहरू कर्ताको रूपमा कार्यक्रममा सामेल भए भने धेरैले एएनएमसीको आजीवन सदस्य बनेर एएनएमसी यात्रामा सामेल भए।

मेलबर्नका पाँच गुरु शंकर गौतम, सूर्यप्रसाद दाहाल, नारणप्रसाद ज्ञवाली, नारायण दाहाल र विमल आचार्यले अनुष्ठानको भाग सञ्चालन गरेका थिए । अन्तिम दिन गुरु रामप्रसाद रिजाल पनि टोलीमा सामेल भएका थिए ।
यो कार्यक्रम भिक्टोरियाका नेपाली समुदायका लागि ठूलो सफलता र कोसेढुङ्गा सावित भएको छ।


