eNepal

नेपाल फेस्टिवल सबै नेपालीको प्रतिनिधित्व गर्ने महोत्सव हो: एनआरएनए उपाध्यक्ष दुर्गा आचार्य

अष्ट्रेलियाको नेपाली समुदायलाई अगाडी बढाउन नेपाली समुदायका अगुवाहरुको महत्त्वपूर्ण भूमिका रहेको छ। मेलबर्नको नेपाली समुदायमा चिरपरिचित नाम दुर्गा आचार्य पनि तिनै अगुवाहरुको नामको सूचीमा पर्दछ। हाल विभिन्न संस्थामा सल्लाहकारको भूमिकामा रहनुभएका आचार्य गैरआवासी नेपाली संघ (एनआरएनए) को केन्द्रिय समन्वय समितिको उपाध्यक्ष हुनुहुन्छ। आज हामीले उहाँसंग सेप्टेम्बर १० मा आयोजना हुँदै गरेको नेपाल फेस्टिवल मेलबर्नका बारेमा विशेष कुराकानी गरेका छौं।

नेपाल फेस्टिवल मेलबर्न २०२२ बाट कस्तो अपेक्षा राख्नुभएको छ ?

एकदमै उत्साहित छु र मजस्तै समुदायका सबै व्यक्तिहरु उत्साहित देखिरहेको छु। कोभिडबाट आक्रान्त भएको समयमा नेपाल फेस्टिवलको धुनले एउटा नयाँ ऊर्जा लिएर आएको छ। चार वर्ष पछि आयोजना हुँदै गरेको र नेपाली समुदायका सबैजसो संघसंस्था तथा प्रतिनिधिहरु मिलेर काम गरिरहेकोले सबैले यस वर्ष अझ भव्य हुने अपेक्षा गरेका छौं।

नेपाल फेस्टिवलमा सहभागी हुँदाको आफ्नो अनुभव बताइदिनुहोस् न !

नेपाल फेस्टिवलको आयोजना अहिले अन्य देशमा पनि हुने गर्दछ, तर सुरुवात अष्ट्रेलियाबाट नै भएको थियो। अष्ट्रेलियामा सिड्नीमा पहिलो पटक फेस्टिवलको आयोजना गरिएको थियो र अहिले विभिन्न सहरमा आयोजना हुने गर्दछ। नेपाल फेस्टिवल मेलबर्नमा म सुरुवात देखि नै सहभागी हुँदैआएको छु। यो एनआरएनको आयोजनामा हुने सबैभन्दा ठूलो इभेन्ट हो र यसले सबै नेपालीको प्रतिनिधित्व गर्दछ। यहाँको फेडेरेसन स्क्वाएरमा नेपालको झण्डा देख्दा, हाम्रो नयाँ पुस्ताका नानीबाबुहरु नेपाली भेषभुषामा सजिएर सहभागी भएको देख्दा, परेडमा हाम्रा मौलिक बाजा घन्किदा कैयौंपटक म भावुक पनि भएको छु। यहाँको बहुसांस्कृतिक समाजमा यसरी आफ्नो देशबारे बताउँदा अत्यन्तै गर्व लाग्छ। यहाँका स्थानीयहरु आएर नेपालका बारेमा अवलोकन गरेको, जानकारी लिइरहेको देख्दा मन हर्षित हुन्छ।

सुरुवाती नेपाल फेस्टिवल र पछिल्ला नेपाल फेस्टिवलमा कस्तो भिन्नता पाउनुभएको छ ?

यो भिन्नता हामीले अहिले भइरहेको तयारी देख्दा पनि सजिलै महसुस गर्न सक्छौं। पहिले हाम्रो समुदाय सानो थियो। हाम्रो आर्थिक स्रोत बलियो थिएन, हाम्रा व्यवसायहरु स्थापित थिएनन्। स्वयंसेवकका लागि पनि हाम्रो संख्या उल्लेख्य थिएन। तर अहिले निकै फेरिएको छ। नेपाली समुदाय यहाँका स्थापित समुदाय मध्येमा गनिन्छ। हाम्रो समुदायबाट स्थापित व्यवसायहरु छन्। संख्याको हिसाबमा पनि नेपाली समुदाय निकै ठूलो भइसकेको छ। र, यसलाई अहिलेको आयोजक टिमले सदुपयोग गरिरहेको देखिएको छ। त्यसैले पनि कार्यक्रम भव्य हुन्छ भन्ने अनुमान गरिएको छ।

नेपाल फेस्टिवललाई अझ भव्य र राम्रो बनाउनका लागि के गर्नुपर्ला ?

नयाँ पुस्तालाई समेट्नुपर्छ। उनीहरुमा नेपालप्रतिको भावनात्मक सम्बन्ध जगाउनुपर्छ। त्यसैगरी नयाँ पुस्तालाई स्वयंसेवीको रुपमा होस् या व्यवस्थापनतिर होस्, आयोजक टिममै राखेर सिकाउने, नेपाल फेस्टिवलको महत्त्वको महसुस गराउने गर्नुपर्छ।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि?

नेपाल फेस्टिवल हाम्रो आफ्नो मौलिक परिचय दिन पाउने अवसर हो। यो केवल संस्थाको मात्र नभएर हामी हरेक नेपालीको कार्यक्रम हो। त्यसैले सेप्टेम्बर १० मा फेडेरेसन स्क्वाएरमा आइदिनुहुन सबैलाई विनम्र अनुरोध गर्दछु।

 

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal