नेप्लिज नेबरहुड कम्युनिटीले गएको १० अप्रिल आइतबार थोमास्टाउनको निक एसेन्जो रिजर्भमा नेपाली नयाँ वर्ष २०७९ र बार्षीक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ ।
बिहान ११ बजेबाट शुरु भएको बार्षिक साधारण सभा कार्यक्रममा सभामा समुदायबाट उल्लेख्य उपस्थिति रहेको थियो ।
सभालाई स्वागत गर्दै अध्यक्ष अमृता गुरुङले संस्थालाई साथ दिनु हुने सबैलाई धन्यवाद ज्ञापन गर्दै सबै समुदायका सदस्यहरूलाई एकजुट भएर जोडिएकोमा आभार व्यक्त गर्दै सबैलाई चैत्र दशैं र नेपाली नयाँ वर्ष २०७९ को शुभकामना पनि दिनु भएको थियो।
सभामा लकडाउनका बाबजुद पनि समुदायले सञ्चालित सबै गतिविधिबारे संक्षिप्त चर्चा गरिएको थियो।छलफलमा एनएनसीआईले आगामी कार्यक्रम तथा गतिविधिहरु आयोजना गर्ने समेत जानकारी गराएको थियो।
सभामा सहसचिव विश्व खनालले कोषाध्यक्ष होमनाथ (कृष्ण) रिजालले तयार पारेको आर्थिक वर्ष २०२१–२०२२ वैशाखको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।यो समिति गत वर्ष अप्रिल २०२१ मा गठन भएको हुनाले २०२३ को मध्यसम्म जारी रहनेछ ।
एनएनसीआईका उपाध्यक्ष प्रकाश चालिसेले उपस्थीत सबैलाई धन्यवाद ज्ञापन गर्दै एजीएमको समापन गरिएको थियो ।
सभा पछि समुदाय र आगन्तुक पाहुनाहरूको ठूलो जमघटको साथ नयाँ वर्षको कार्यक्रम हर्षोल्लासका साथ मनाईएको थियो।
हरेक शनिबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म लालोरमा औपचारिक रूपमा सञ्चालन हुने एनसी बालचौतारीका बिधार्थी भाईबहिनीहरुको सामूहिक नृत्यबाट नयाँ वर्षको कार्यक्रम सुरु भएको थियो।
कार्यक्रममा २५० भन्दा बढी दर्शक, श्रोता र अतिथिहरुको उपस्थिती रहेको थियो भने इपिङ वोलर्ट नेप्लिज कम्युनिटीकी अध्यक्ष रोजलिना महर्जन र दोरीन मरिण्डा नेप्लिज कम्युनिटीका अध्यक्ष गोपाल काफ्लेले उपस्थित जनाएका थिए।
कार्यक्रम एकदमै अनौपचारिक थियो जहाँ नव स्थापित आतिथ्य व्यवसाय द याक एण्ड यती द्वारा स्वादिष्ट खाना पकाइएको थियो भने फोटो बुथ सत्र थियो पनि राखिएको थियो।
कार्यक्रममा विभिन्न बालबालिका र वयस्क खेलहरु जस्तै म्युजिकल चेयर, घैतो फुटाउने खेल लगाएत बालबालिकाको आकर्षणको केन्द्र जम्पिङ क्यासल र फेस पेन्टिङ रहेको थियो ।
कार्यक्रमको समापन भजन र कीर्तनबाट भएको थियो जसमा संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

