सागर भुर्तेल, सिड्नी अस्ट्रेलीया
अहिले नेपाली आप्रवासी नेताहरूलाई अस्ट्रेलियामा भ्याई नभ्याई छ एनआरएनएको निर्वाचनले। तर भोट कसलाई के आधारमा दिने यो चाहिं बिचार गर्नुपर्ने बिषय बनेको छ। यो संस्था समस्त गैर आवासीय नेपालीहरूको लागि स्थापित हो। सदस्यता लिएका वा प्राविधिक कारणले लिन छुटेका सबैको यसमा सरोकार छ र हुनुपर्दछ। एकातिर जसका लागि यो संस्था हो आम रूपमा त्यति धेरै सम्बन्धित पक्षको सरोकार देखिंदैन भने अर्को तर्फ हामी तपाईंहरूको सेवा गर्छौं मौका दिनुस् भन्दै हिंडेको देखिन्छ। कतिपयले त सदस्यता बनाउनका लागि समेत लगानी गरेको प्रसस्तै सुनिएका छन्।
तर यसैबीचमा नेपालको राजनीतिक आस्थाका आधारमा एनआरएनएको चुनावमा उम्मेदवारहरुको गुट-उपगुट बनेको र अझै त्यसैका आधारमा मत माग्न थालिएको छ भन्ने सुन्नमा आएको छ । हो, हामी सबैसँग कुनै न कुनै वैचारिक आस्था या त विगतदेखि छ या अहिले बनेको छ। जे भएपनि हुबहू आफ्नो दृष्टिकोण लाद्न खोज्नु NRNA जस्ता गैर राजनीतिक संस्थाको लागि ठूलो अभिशाप हो, जुन यहाँ भैरहेको छ।जसको फलस्वरूप परदेशमा एकताबद्ध भई बसेको नेपाली समुदाय विभाजित हुन पुगेको छ। राजनीति नै गर्नुछ भने गर्नुस् नेपालको वा यहाँको तर एनआरएनएमा नगर्नुस्।राजनीति गर्न एनआरएनए को नकाव लगाएर नआउनुहोस् र जबरजस्ती ईच्छा नहुनेलाई त्यसमा नहोम्नुस्।
आफ्नो पारिवारिक परिस्थिति आफ्नो सापेक्ष बनाउनुहोस् , कुनै लोभ लालचामा नलागी सामाजिक काममा ध्यान दिनुस् र नि: स्वार्थ भावनाले तपाईंको श्रम र ज्ञान सीपका आधारमा सेवा गर्नुस्।
हामीलाई बिगतका गल्ती र कमजोरी हटाउने नेतृत्व चाहिएको हो , निरन्तरता दिने होइन। र, हामी यसलाई तटस्थ बनाउने अभियानमा लाग्नुपर्छ न कि नेपालका राजनीतिक दलका भातृ संगठन! त्यसैले एनआरएनए एउटा अभियान हो आज नै वा आफूले नै सबै सक्नुपर्छ भन्ने छैन। जति सकिन्छ, राम्रो गर्न प्रयास गरौं।आफूलाई तटस्थ बनाउन प्रयास गर्नुस् । हामी त्यसैको पक्षमा छौं।सेवाभावले प्रेरित हुनुहोस् तपाईंले पराजय नै भोग्नु पर्दैन। अर्को पटकदेखि एधआरएन अभियानमा नेतृत्व गर्ने हो भने अहिलेदेखि नै समुदायको सेवा गर्दै आधारभूत तहबाट अगाडि बढौं। सामाजिक धरातल मजबूत बनाउनुहोस् र अगाडि बढ्नुहोस्,यसैबाट एनआरएन अभियान र नेतृत्व सफल हुनुकोसाथै गैर आवासीय नेपालीहरु वास्तवमै लाभान्वित हुने अवस्था सृजना हुन्छ!

