एनआरएनए अस्ट्रेलियाको चुनाबले अस्ट्रेलीयाको नेपाली डायस्पोरा पुरै तातीएको छ। एनआरएन अस्ट्रेलियाको निर्वाचन आउँदो जुलाइ ३१ तारिखका लागि तोकिएको छ।एनआरएनएको चुनावलाई अस्ट्रेलीयामा बस्ने आम नेपालीहरुले बढो चासोका साथ हेर्ने गरेका छन्।यसै बिचमा समुदाएका केही अग्रज व्यक्तित्वहरु जसले बिगत लामो समय देखी यस सँस्थालाई नजीकबाट नियाली रहेका छन् उहाँहरुको धारणा जान्ने प्रयास हामीले गरेका छौ।
एसके गौतम, मेल्बर्न
एनआरएनए अस्ट्रेलियाको चुनाव नेपालकै आम निर्वाचनको झल्को दिने खालको छ, त्यसमा पनि अझ चुनाव लड्नेहरूको लागि।तर धेरैजसोको लागि “कागलाई बेल पाक्यो हर्ष न बिस्मात”को रूपमा रहेको छ ।चुनाव बारे कतिलाई त सामान्य जानकारी समेत छैन। लोकतान्त्रिक शासन ब्यबस्थामा चुनाव एक सुन्दर पक्ष हो तर ह्वास्सै आउने राजनीतिक गन्धले भने धेरैलाई बितृष्णा पैदा गरेको छ।

नारायण पन्थी, ब्रिसबेन
मेरो बुझाइमा एनआरएनए आधारभूत रुपमा प्रवासी नेपालीहरुको वित्तीय, सीप र आधारित बौद्धिक लगानी प्राप्त गर्न स्थापित भएको सँस्था हो। तर यस सँस्था अहिले जुन गतिमा अघि बढेको छ त्यो वास्तवमा भ्रमीत र यसको मूल विचारधाराबाट भाँडीएको पो हो जस्तो आभास हुन्छ। त्यसो भन्दै गर्दा सँस्थाले हाम्रो समुदायको लागि गरेका केहि राम्रो काम भने बिर्सनु हुँदैन। तर दुर्भाग्यनै भन्नु पर्छ यो त्यस्तो सँस्थाको रुपमा हावी भयो की जो नेपाल आधारित राजनीतिक अभ्यासबाट बाहिर निस्कन सकेन जसले समुदायलाई विभाजन तर्फ लग्दै गरेको अनुभुती हुन्छ। साथै, एनआरएनमा संलग्न प्राय अनुहारहरु समाजसेवाको बहानामा आफ्नो स्वार्थलाई बढी जोड दिएको देखिन्छ। मलाई लाग्दैन कि मैले यसको लागि कुनै उदाहरण दिन आवश्यक छ। आगामी चुनाव भनेको नेपालमा आधारित राजनीतिक प्रभाव र केही स्वार्थी मनसायको दुर्व्यवहारको मिलन हो। यदि हामी वास्तवमै नेपाल अनि नेपाली समुदायको लागि सहयोग गर्न चाहन्छौं भने त्यहाँ धेरै अवसरहरू र सहयोगका तरीका छन्। हामीले चुनावनै गरेर धेरै रकम खर्च गरी राख्नु जरुरी ठान्दिन। त्यो रकम मातृभूमिमा सहयोग गर्न सकियो भने त्यसको योगदान दोगुना हुनेछ। इमानदारीपूर्वक भन्नु पर्दा मेरो लागि यो चासोको बिषय खासै होइन। जून रुपमा यो सँस्था अगाडी बढेको छ निश्चयपनि सहि दिशामा हिडेको कत्तिपनि लाग्दैन। भ्रष्टाचारले नेपालको नेपाली राजनीतिक अभ्यासलाई वास्तवमै बिरामी बनाइरहेको छ, त्यस्तै गरी नेपालमा चलि आएको घिनलाग्दो राजनातिक अभ्यास एनआरएनए भित्र पनि देखिएको छ जुन सार्है दुखद छ।

निरज करणजीत (अध्यक्ष – जिलोङ नेप्लिज एसोसियसन)
एनआरएनए अष्ट्रेलियामा बसोबास गर्ने नेपाली नागरिक तथा नेपाली पृष्ठभूमिका अस्ट्रेलियालीहरूलाई समस्या परेको बेलामा सहयोग गर्ने र हामी नेपालीको पहिचान कायम राख्ने हामी सबैको साझा फूलबारी हो। केही समस्याहरु अवस्य नै छ र हामी सबै मिली यसलाई सुधार्दै जानु पर्छ । एकबद्ध भएर अगाडी बढ्दा नै हाम्रो समुदायको शिर उच्च हुने हुँदा सबै मिलेर अगाडी आएर हातेमालो गर्दै हामीहरुको आफ्नै संस्थाको सदस्य भएर यस संस्थालाई अझ अगाडी बढन सहयोग गर्न अति आवस्यक छ ।

महादेव धानुक (अध्यक्ष – सुदरपश्चिम नेप्लिज समाज भिक्टोरीया)
अहिले मेल्बर्न लगाएत अस्ट्रेलीया भरिनै एनआरएनएको चुनाबको माहौल तातेको अवस्था छ।सदस्य बनाउने भनेर लागेको सुनिएको छ जसले गर्दा सामाजीक चहलपहल बढेको छ र साथीभाई भेटघाट गर्ने मौका मिलेको पनि देख्दछु। कुनै पनि सामाजीक काम तथा महत्पुर्ण फेस्टिभल महत्सव गर्न र समाजमा अप्ठायारो पर्दा चाहिने सँस्था एनआरएनए भएकोले राम्रो नेतृत्वको छनोट होस् भन्दै चुनावमा भाग लिने सबैलाई अग्रीम शुभकामना दिन चाहान्छु। अन्तमा एनआरएनए दुईचार जनाको मात्र सँस्था नभएर हाम्रो एनआरएनए भन्न पाइयोस्।
सन्तोष कर्ण – निर्देशक/रजिस्टर्ड माइग्रेसन एजेन्ट मेल्वर्न
म सबै योग्य समुदाय सदस्यहरुलाई एनआरएनएको सदस्य बन्न सिफारिस गर्दछु ताकि तपाईले आफ्नो मतदान शक्ति प्रयोग गर्न सक्ने सही उम्मेदवारहरु छनौट गर्न सक्नुहुन्छ जसले हाम्रो समुदायलाई अझ राम्रो सेवा गर्न सक्दछन्। एनआरएन भित्र धेरै राजनीति छ भन्ने जनताको राय हुन सक्छ जुन सत्य पनि हो तर त्यस्ता व्यवहारहरू सफा गर्न मद्दत गर्नको लागि हामी सदस्य बन्नु आवश्यक छ।आलोचनाको बाबजुद पनि एनआरएनएले समुदायमा ठुलो काम गरिरहेको छ। यसैले म समुदायका सबै सदस्यहरुलाई यस सँस्था प्रति आफ्नत्व भाव देखाउन र खबरदारी गर्न समयसीमा भन्दा पहिलेनै सदस्य बन्न अनुरोध गर्दछु।

सन्तोष बस्ताकोटी – (व्यवसाहिक क्रिकेट अम्पाएर मेल्बर्न)
निर्वाचन राम्रो सँग सम्पन्न होस् मेरो शुभकामना छ। जति पनि एनआरएनएको सदस्यहरु हुनुहुन्छ उहाँहरुले आफ्नो विवेक प्रयोग गरेर दुई बर्षको लागि योग्य अनि सक्षम व्यक्तिलाई अध्यक्ष लगाएत अन्य पदहरुमा विजयी गराउन्।एनआरएनएको सदस्यता चुनावको बेला मात्र नभएर सधै खुल्ला हुन पर्छ भन्ने मेरो धारणा छ।


