चितवन, असार-७। हिन्दू धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । ज्येष्ठ मासको शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राखेर पर्वको रूपमा मनाउने गर्दछन् । यस व्रतमा पानी समेत पिउँनु वर्जित छ यसैले यसलाई निर्जला एकादशी भनिन्छ ।
यो व्रतलाई नर नारीहरू दुबैले गर्नुपर्छ जलपानको निषेध भए पनि फलहारको साथमा दूध लिन सकिन्छ यस दिन निर्जल व्रत गर्दै शेषशायी रूपमा भगवान विष्णुको अराधनाको विशेष महत्त्व छ । यस दिन ॐ नमो भगवते वासुदेवायः मन्त्रको जप गरेर गोदान, वस्त्र दान, छत्र, फल आदिको दान गर्नुपर्छ ।
यस एकादशी महत्वपूर्ण आयामहरु बोकेर आएको छ, यस दिनमा तुलसीका दानाहरुलाई जमिनमा छर्ने चलन हुन्छ, कतिले तुलसीको मोठको माटोमा नै तुलसीका दानाहरु अर्थात मन्जरीहरु छर्दछन् भनें कतिले चाँही जमिनमा सफा पारेर माटो फुरुरु बनाएर तुलसी छर्दछन् । यस दिन छरिएका तुलसीहरुको अंकुरण भएपछि ति बिरुवाहरुलाई पछि ठूली एकादशीमा रोप्ने गरिन्छ । हरिको जयजयकार मनाँउदै आज यस एकादशीको भव्य स्मरण गरिन्छ ।
जब सर्वज्ञ वेदव्यासले पाण्डवहरूलाई चारै पुरुषार्थ- धर्म, अर्थ, काम र मोक्ष दिने एकादशी व्रतको संकल्प गराए तब महाबली भीमले निवेदन गरे- हे पितामह! तपाईँले त प्रति पक्ष एक दिनको उपवासको कुरा भन्नुभयो । म त एक दिन त के एक समय पनि भोजन विना रहन सक्दैन- मेरो पेटमा ‘वृक’ नामको जो अग्नि छ, त्यसलाई शान्त राख्नको लागि मलाई कैयों मान्छेको बराबर अथवा कैयों पटक भोजन गर्नु पर्दछ । के म आफ्नो यस भोकका कारण म एकादशी जस्तो पुण्यव्रतबाट बाँच्न सकुँला ?
पितामहले भीमको समस्याको समाधान गर्दै उनको मनोबल बढाउँदै भने- नाही कुन्तीनंदन, धर्मको यही त विशेषता छ कि यो सबैलाई धारण नै गर्दैन, सबैलाई योग्य साधन व्रत-नियमहरूको निकै सहज र लचिलो व्यवस्था पनि उपलब्ध गराउँछ । अतः तिमी ज्येष्ठ मासको शुक्ल पक्षको निर्जला नामको एक मात्र एकादशीको व्रत गर र तिमीलाई वर्षका समस्त एकादशिहरूको फल प्राप्त हुनेछ । निःसंदेह तिमी यस लोकमा सुख, यश र प्राप्तव्य प्राप्त गरी मोक्ष लाभ प्राप्त गर्नेछौ ।
यती आश्वासनमा त वृकोदर भीमसेन पनि यस एकादशीको विधिवत व्रत गर्नलाई सहमत भए । यसैले वर्ष भरका एकादशिहरूको पुण्य लाभ दिने यस श्रेष्ठ निर्जला एकादशीलाई पाण्डव एकादशी या भीमसेनी एकादशी पनि भनिन्छ । यस दिन जो स्वयं निर्जल रहेर ब्राह्मण या जरूरतमंद व्यक्तिलाई शुद्ध पानीले भरेको घडा साथ दान गर्दछ त्यसले यस लोकमा सम्पूर्ण सुख प्राप्त गरेर परलोकमा स्वर्गको आनन्द भोग्दछ ।

