जनकपुरधाम, असार-६। हिजो शनिबार राति बाराको जीतपुर-सिमरास्थित जगदम्बा स्टील्स कारखानामा भएको आगलागीमा परि दुई जनाले ज्यान गुमाएका छन।
प्रहरीका अनुसार उक्त आगलागीमा परी कारखानामा कार्यरत मजदुरद्वय भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै ज्यान गुमाएका हुन् भने तीन जना घाइते भएका हुन्।
आगलागीमा परि घाइते हुनेहरूमा इन्द्र प्रसाद अधिकारी, रामकुमार विश्वकर्मा र नवराज चौलागाई रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रका अनुसार आगलागीमा परी घाइते भएकाहरूको उपचार वीरगञ्जको तराई अस्पतालमा भइरहेको र घटनास्थलमा रहेका ६ जना मजदुर मध्य एक जना सुरक्षित रहेका छन।
शनिबार राति पेट्रोल र डिजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ्ग गरिरहेको बेला अचानक आगलागी हुँदा घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। आगलागी नियन्त्रणमा आइसकेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

