जिलोङ नेप्लिज एसोसिएसनले गएको वर्ष जस्तै यस बर्ष पनि जिवन बचाउने तरिका र पानी सुरक्षा सन्देश दिने हेतुले आगामी ९ जनवरी बिहान १० बजे देखी २ बजे सम्म Cosy Corner Beach, Torquay मा एक बिषेश कार्यक्रम आयोजना गर्ने भएको छ। जीवन बचाउने तरिकाहरू र पानी सुरक्षाबारे नेपालीहरुलाई शिक्षित गर्न जिलोङ नेपाली एसोसिएसन (जीएनए)ले लाईफ सेभिङ भिक्टोरियाको सहयोगमा पानी सुरक्षा शिक्षा र समुद्री तट कार्यक्रम २०२१ गर्न लागेको हो ।
यो कार्यक्रममा लाईफ सेभिङ भिक्टोरियाका योग्य प्रशिक्षकहरूले तीन घण्टाको व्यावहारिक तालीम दिनेछन्।
समुद्र तट कार्यक्रम व्यावहारिक सत्र हो जसमा पानी सुरक्षा प्रस्तुती, लाइफजेकेट, उद्धार प्रविधि , बोर्ड प्याडलिंग र समुद्री किनारका खेलहरू समावेश रहने छन्।पानीको मज्जा लिदा सुरक्षित कसरी रहन भनेर सिक्न सहभागीहरू पानीमा नै जानु पर्ने हुन्छ । यस्ता गतिविधिहरू विशेष गरी पौडी खेल्न नजान्नेहरुको लागि डिजाइन गरिएको हुन्छ जहाँ पानीमा प्रयोग गर्ने उपकरणहरू को पनि ब्यबस्था हुनेछ ।
बिशेषत: गर्मीयामको बेलामा मानिसहरु समुन्द्रमा पौडी खेल्न जान रुचाउँनेहरु अत्याधिक मात्रामा हुन्छन्। बर्षेनी नेपालीहरु समुन्द्रमा डुबेर मृत्युबरण गरेका समाचारहरु सुन्नमा आउँछ। समुन्द्रतटमा जाँदा थाहा पाउन पर्ने सामान्य ज्ञान र थोरै सावधानी नअप्नाउँदा अकालमै ज्यान गुमेको सङ्ख्या बर्षेनी बढेको सुन्नमा आउँछ। त्यसैले यो कार्यक्रम पानीमा जानका लागि अप्नाउनु पर्ने सुरक्षाहरुलाई आधार मानेर डिजाइन गरिएको छ।
यस कार्यक्रममा सहभागीहरुले पौडी खेल्नका लागि नियमित’ समुद्री पोशाक प्रयोग गर्न प्रोत्साहित गरिएको छ, तर आफ्नो सहजताको लागि सहभागीहरूले टी-शर्ट र लामो सर्ट अनि महिलाहरुले पनि हेडवेयर लगाउन सक्नेछन्।
जिलोङ नेपाली एसोसिएसनले खाजा, स्नाक्स र सफ्ट ड्रिंकको व्यबस्था गरेको छ भने यदि कसैलाई यातायातमा समस्या छ भने जि.एन.एले यातायात को लागि आवश्यक सहयोग पनि गर्न सक्ने अध्यक्ष निरज करणजितले जनाउनु भएको छ।उहाँ भन्नुहुन्छ – “हामी बढी भन्दा बढी सहभागीहरुले यस कार्यक्रमबाट फाइदा लिन सकुन भन्ने हेर्न चाहन्छौ”। प्रशिक्षण निशुल्क छ तर दर्ता भने आवश्यक रहेकोले इच्छुक व्यक्तिहरुले समयमानै दर्ता गरेर आयोजकलाई सहज बनाउन अनुरोध गरिएको छ।
कार्यक्रमलाई द सेनटर अफ सपोर्ट, डिकेन विश्वबिधालय नेप्लिज सोसाइटी र किराँत सोसाइटी अफ भिक्टोरीयाले समर्थन गरेको छ।
गएको बर्ष जिलोङ नेप्लिज एशोसियसनले एनआरएनए भिक्टोरीया, नेप्लीज एसोशियसन अफ भिक्टोरीया र मेल्बोर्न नेप्लिज कम्युनिटी वेस्टको सङयुक्त प्रयास अनि लाईफ सेभिङ भिक्टोरीयासँगको सहकार्यमा ३० जनवरी २०२० का दिन मेल्बोर्नको अल्टोना समुन्द्र तटमा एकदिने समुन्द्र सुरक्षा सम्बन्धी तालीम सम्पन्न गरि सकेको छ।

