कोभीडको कारण केही समय पछाडी धकिलिएको चितवन समाज भिक्टोरीयाको बार्षीक साधारण सभा हिजो मेल्बोर्नमा सिमीत व्यक्ति बिशेषहरुको उपस्थितीमा सम्पन्न भएको छ।
हिजो सम्पन्न भएको साधारण सभाले अनुपम पाठकको नेतृत्वमा सत्र सदस्यीय कार्यसमिती चयन गरेको छ। कार्यसमितीको उपाध्यक्ष बिपुल ज्ञवाली, सचिवमा गोबिन्द पाठक, सह-सचिवमा कमल लामिछाने, कोषाध्यक्षमा राजेन्द्र उप्रेती, सह कोषाध्यक्षमा सोभित प्रधान चयन भएका छन्। त्यस्तै सदस्यहरुमा एस के गौतम, दिक्षा न्यौपाने, कस्तुरी शर्मा गैरे, प्रकाश आचार्य, बबिन मिश्र, सुमन अधिकारी, फडिन्द्र अधिकारी, सैवल न्यौपाने, हरी सापकोटा, शिशिर बस्ताकोटी र कृष्ण पौडेल चुनिएका छन्।
साधारण सभामा समुदाएका अगुवा सोमप्रसाद गुरुङ र सुरेश पोखरेलको दुई सदस्य निर्वाचन समिति गठन गरिएको थियो तर निर्वाचन बिनानै नयाँ कार्यकारी समिति गठन भएको थियो।यस्तै सचिवबाट प्रतिवेदन पेश गरिएको थियो भने कोषाध्यक्षबाट कार्यकालको वित्तीय प्रतिवेदन पेश गरिएको थियो।
बिगतमा यस संस्थालाइ योगदान दिनुभएका र यसै संस्थामा रहेर काम गर्ने इच्छा ब्यक्त गर्नुभएका तर वार्षिक साधारण सभा कार्यक्रममा उपस्थित हुन नसक्नु भएका थप सदस्यहरु जोडिनु भएसँगै यस कार्यकालको पहिलो मिटीङबाट चितवन समाज भिक्टोरीयाले कार्यकारी कमिटिको पुर्णता पाउने बताइएको छ।
हिजोको बिशेष कार्यक्रममा अध्यक्ष आत्माराम रिजालले आफ्नो कार्यसमितमा रही कार्य गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । यस्तै सचिव र कोषाध्यक्षको प्रतिवेदन पनि पेश गरिएको थियो । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष एवम् चितवन समाजका सल्लाहकार केशव कँडेल, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष राम गुरुङ्ग, एनआरएन भिक्टोरियाका संयोजक प्रेमप्रसाद कँडेल, सुरेश पोखरेल, सोम गुरुङ्ग लगायतले सफलताको शुभकामना दिएका थिए ।
चितवन समाज भिक्टोरियाले बर्षेनी बिभीन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ। कोभीड १९ को महामारी र त्यस पछि सृजीत बद्लिदो परिस्थितीको कारण कार्यक्रमहरु गर्न असम्भव हुँदाहँदै पनि सामजिक दायित्वलाई निरन्तरता दिदै बिभीन्न सामाजिक कार्यमा कृयाशिल रहेको थियो। यहि समयमा अस्ट्रेलियाको भिक्टोरिया राज्यमा एन आर एन तथा अन्य सामजिक सँस्थाहरु सम्मिलित कोविड राहत कोषलाई १००० अस्ट्रेलियन डलर सहयोग गरेको थियो जस मार्फत समस्यामा परेका नेपाली बिध्यार्थीहरुले थोरै राहत पाएका थिए। त्यस्तै लामो समय देखि क्यान्सर पिडित चितवन निवासी बिरामीलाई उपचारका लागि १ लाख आर्थिक सहयोग गरेको थियो।
सेवाको भावलाई निरन्तरता दिदै आर्थिक रुपमा कमजोर र दुबै म्रिगौला फेल भइ बिगत चार बर्ष देखि डाइलेसिस गराउँदै आएकी चितवन इच्छा कामना गा.पाकि शर्मिला गुरुङको म्रिगौला प्रत्यारोपणका लागि ५० हजार रुपयाँ सहयोग गरेको थियो। आर्थिक अभाबका कारण बन्द हुन लागेको दिवा स्याहार केन्द्र, चितवन जसले मस्तिष्क पक्षघातका बिरामी बालबालिकाहरुलाई सेवा दिदै आएको छ, सो सँस्थालाई १ लाख आर्थिक सहयोग प्रदान गरेको थियो।
चितवन समाज भिक्टोरियाले चितवनमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट रङ्गशालालाई सहयोग स्वरुप धुर्मुस सुन्तली फाउन्डेसन मार्फत नेपाली रु. एक लाख पचास हजारको आर्थिक सहयोग गरेको छ।

