सीता ओझा –
ड्रागन फल एन्टिअक्सडेन्टको प्रमुख श्रोत मानिन्छ ।
यसमा पानी प्रशस्त मात्रामा हुने गर्छ । विश्वमा पाइने अरू अनेक प्रकारका एक दर्जन फलहरूमा भन्दा बढी तत्त्व या पोषण यसमा पाइन्छ । यसको बीउमा ओमेगा ३ र ६, गुदीमा भिटामिन सी र छालाका लागि चाहिने तत्त्व पाइन्छ । यसको फल डेङ्गो, सुगर लगायतका बिरामीहरूका लागि जीवन नै वरदान पाए जस्तो हुनेगरि फाइदा गर्छ । प्रशस्त फाइबर भएकोले पाचन प्रणालीलाई चुस्त दुरुस्त बनाउँछ ।
यसमा भएको फोनोइन्टस भन्ने तत्वले मुटु सम्बन्धी रोग लाग्न दिँदैन। क्याल्सियम प्रशस्त पाइने हुनाले दाँत र हड्डी बलियो बनाउँछ । गर्वअवस्थाका महिला, बालबालिका, ज्येष्ठ नागरिक र रोगले दु:ख दिइरहनेहरूको लागि शक्तिवर्दक सञ्जीवनी साबित हुन्छ। अर्थराइटिसका बिरामीका लागि निकै उपयोगी र सौन्दर्यको श्रोतको रूपमा उपयोगी हुने फलको नाम नै ड्रेगन फल हो।
अहिले हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली र दिगो विकास’को नारालाई सार्थक बनाउन खोजिरहेका छौ । यस्तो बेलामा सरकारले यसको व्यवसायीक रूपमा खेती गर्न चाहनेलाई विशेष अनुदानको व्यवस्थापक गर्ने र प्रत्येक नागरिकलाई आफ्नै घरको घाम लाग्ने छत, कोरेसा वारि, डाँडा पाखा, सुख्खा, उब्जनी नहुने, कम हुने, पानी नभएका ठाउँहरू छानेर यसको खेती गर्ने अभियान सञ्चालन गर्न सक्यौँ भने वास्तवमै मुलुकको अर्थतन्त्रमा व्यापक परिवर्तन हुन सक्छ। थोरै उत्पादन गर्नेहरूको लागि घर-परिवारलाई खान पुगेर तरकारी खर्च थान्न सक्ने हुन्छ भने व्यवसाय गर्नेहरूले आफ्नो मात्रै होइन मुलुकको आम्दानीको श्रोत बढाउँछ र उत्पादित वस्तुको निर्यातमा सूचीकृत हुन सक्छ।

