अस्ट्रेलीयाको मेल्बर्नमा मधेशी समुदाय भिक्टोरीयाले बिगत सात बर्ष देखी निरन्तर रुपमा मनाउँदै आएको छठ पर्व कोरोना महामारी र त्यस पछिको बद्लिदो परिस्थितीलाई मध्यनजर गर्दै यो बर्ष अनलाईनबाट गरिने भएको छ। हरेक बर्ष मेल्बर्नको एडवर्ड्स लेक पार्कमा छठ पुजा भव्यताका साथ आयोजना हुँदै आएको थियो।
स्वास्थ्य बिभागले जारी गरेको प्रतीबन्धलाई मध्यनजर लगाउँदै एडवर्ड्स लेक पार्कमा गर्न लागिएको सामुहिक छठ पर्वलाई धार्मीक पर्व भन्दा पनि बाहिरी भेलाको रुपमा डेरबीन काउन्सीलले हेरेको छ। सार्वजनिक स्थान अनि बाहिरी भेलाहरूमा १० व्यक्ति मात्र सीमित रहेको कारण सार्वजनिक पार्कमा १० व्यक्तिको समूहमा छठको आयोजना गर्ने र मनाउने व्यावहारिक नहुँने भन्दै यस वर्ष छठको सार्वजनिक उत्सवलाई भर्चुअल बनाउने र आफ्नो अफिसियल पेजबाट प्रत्यक्ष प्रशारण गर्ने एमसिभीका अध्यक्ष डा. सुरेन्द्र रौनियारले जानकारी गराउनु भएको छ।
यद्यपि एमसिभीले छठ भक्तजनहरूसँग सम्पर्कमा रहेर सहयोग गर्ने निर्णय गरेको छ ताकि यस वर्ष छठ मनाउन आआफ्नो ठाउँमा कुनै अवरोध बिना मनाउन सकुन्। यसबाट पर्न गएको असुविधा प्रती धेरै दु: खी भएको र केहि प्रश्नहरू छन् भने छठ पर्व व्यबस्थापन समितीका समन्वय सन्जीव कानुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
चारदिनसम्म मनाइने छठको पहिलो दिन बुधबार कात्तिक शुक्ल चतुर्थीका दिन नुहाई धुवाई अरबाअरबाईन गरिने छ । यसदिन व्रतालुहरुले नुहाईधुआई चोखो भई अरबा चामलको भात मात्र खाने गर्छन । छठ पर्वका लागि बनाउने प्रसाद भुसुवा (चामल पिठोको सक्कर मिश्रित लड्डू) को लागि पिठो ढेकी जाँतामा पिस्ने गर्छन ।
दोश्रो दिन पंचमी बिहीवारका दिन खरना मनाइने छ । खरनामा व्रतालु महिला दिनभरि निराहार उपवास बसी राति कुलदेवता र पुर्वजसहितलाई खिर, मूला, केरा, दुध र विभिन्न फलफूलका परिकारले नौवेद्य (प्रसाद) चढाउने गर्छन ।
त्यसपछि छठ पर्वको मुख्य षष्ठी दिन व्रतालु निराहार उपवास बसी पोखरी, ताल, तलाउ, नदीको डिलमा ठेकुवा, भुसुवा, फलफूल सहितका विभिन्न मिष्ठान परिकारले अस्ताउंदो सुर्यलाई अर्घदान दिइनेछ भने अन्तिम सप्तमीका दिन सोही प्रसाद उदाउंदो सुर्यलाई अर्घ दान गरी छठ पर्व सम्पन्न गरिने चलन रहेको छ ।
छठ पूजाको विधिले मानसिक शान्तता प्रदान गर्ने, उर्जाको स्तर र सुरक्षालाई बढाउँने र क्रोधको आवृत्ति लगाएत ईर्ष्या र नकारात्मक भावनाहरूलाई कम गर्दछ भन्ने विश्वास गरिन्छ।

