सुभाष मिश्र, डेभनपोर्ट ताज्मानिया
‘नेपाली सोसाईटी अफ नर्दन ताज्मानिया’को आयोजनामा ताज्मानियाको लन्चेस्टनमा देउसी भैलो र तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा लन्चेस्टन काउन्सिलका मेयर अल्वर्ट भ्यान जेटन लगाएत अन्य पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । सोसाईटीले स्थानिय निकाएको सहयोगमा नयाँ पुस्तामाझ नेपाली भाषाको संरक्षण र प्रवर्द्वनका लागि नेपाली भाषा विशेष कार्यक्रम ‘भाषालय’ सञ्चालन गर्दै आएको छ । मेयर जेटनले भाषालयमा आवद्व विद्यार्थीहरुलाई पुरस्कार तथा प्रसंशापत्र वितरण गर्नु हुँदै आफू यस कार्यक्रममा सहभागि हुन पाउँदा हर्षित भएको र आउँदा दिनमा काउन्सिलले गर्ने सहयोगको दायरा फराकिलो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानिय कलाकार तथा भाषालयका विद्यार्थीहरुले देउसी भैलो लगाएत विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिहरु प्रस्तुत गरेका थिए । सोसाईटीका अध्यक्ष नवराज मुडभरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका वर्तमान तथा पूर्व पदाधिकारीहरुले स्वागत, धन्यवाद तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

