डेमोक्र्याट जो बाइडनले शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेर संयुक्त राज्य अमेरीकाको ४६औं राष्ट्रपति बन्न सफल भएका छन्। कोरोना जस्तो ऐतिहासिक महामारी अनि त्यसपछि सृजीत आर्थिक र सामाजिक उथलपुथलको संगमले ग्रस्त राष्ट्रको नेतृत्व अब बाइडनले गर्ने छन्।
उनको जीत तीन दिन भन्दा बढि अनिश्चितताको पछि सम्भव भएको हो। अमेरिकी सञ्चार माध्यमहरूका अनुसार पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो ।
जितका लागि महत्त्वपूर्ण मानिएको पेन्सलभेनियाको मतपरिणाम आएसँगै बाइडेनले जितका लागि आवश्यक २ सय ७० इलेक्टोरल भोटको आँकडा पार गरेका हुन् ।
अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति पदका लागि मतदान भएको थियो । सन् १९०० पछिका राष्ट्रपति चुनवमा सबैभन्दा बढी मतदान भएको बताइएको छ । राष्ट्रपतिमा विजयी बाइडेनले यो निर्वाचनमा ७ करोडभन्दा बढी भोट प्राप्त गरिसकेको र यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै भोट पाएका थिएनन्। सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित रहेको बीबीसीले जनाएको छ ।

