काठमाडौं – मोटरसाइकल दुर्घटनामा परी घाइते भएका क्रिकेट खेलाडी ललित भण्डारीको उपचारमा राष्ट्रिय खेलकुद परिषदले (राखेप) सहयोग गर्ने भएको छ । अहिले उनको उपचार गर्नको लागी रकम संकलन हुने क्रम जारी छ ।
यसक्रममा राखेपका सदस्य सचिव रमेश कुमार सिलवालसहित राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, निवर्तमान कप्तान पारस खड्का, नेपाल क्रिकेट संघ (क्यान)का सदस्य छुम्मबी लामा लगायत मंगलबार ललितको स्वास्थ्य अवस्था बुझ्न टोखास्थित ग्रान्डी अस्पताल पुगेका थिए ।
आइतबार कञ्चनपुरमा ट्रकको ठक्करबाट घाइते भएका भण्डारीलाई स्थानीय निसर्ग अस्पतालमा उपचारपछि सोमबार बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । त्यहाँबाट हेलिकप्टरमा उनलाई सोमबार काठमाडौंको ग्राण्डी अस्पतालमा थप उपचारका लागि ल्याइएको छ । ललितको हात र खुट्टाको अप्रेसन गर्नुपर्ने भएको छ र कलेजोमा पनि चोट देखिएको छ ।
यसअघि क्रिकेट खेलाडी संघ सिप्यानले पनि ललितको उपचारमा सहयोग गर्ने भन्दै रकम संकलनका लागि पनि अपिल गरेको छ ।

