काठमाडौं -सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेट इंग्ल्याण्डले बडो रोमाञ्चक तरिकाले जित्दा नेपालका क्रिकेट समर्थकहरुमा पनि बेग्लै किसिमको उत्साह र उमंग देख्न सकिन्थ्यो । ५० ओभरको खेल र त्यसपछिको सुपर ओभर पनि बराबर भएपछि इंग्ल्यान्डले बाउन्ड्री धेरै प्रहार गरेको आधारमा पहिलोपटक विश्वकप जितेको थियो । यस जीतको आधार के थियो भनेर बुझ्न सामान्य मानिसलाइ कठीन थियो ।
यिनै ‘थ्रिलर’ परिस्थितिका बीच रहेर कुरा गर्दा नेपाल भने एकदिवसीय विश्वकपमा खेल्न पाएमा मात्र पनि ठूलो सफलता हुनेछ किनभने १० राष्ट्र सम्मिलित हुने क्रिकेटकै महाकुम्भमा सहभागी हुनु भनेको सामान्य कुरो होइन ।
अब अर्को विश्वकप सन् २०२३ मा भारतमा आयोजना हुने तय भएको छ । त्यसका लागि आइसिसीले नयाँ तरिकाको छनोट प्रक्रिया सार्वजनिक गर्दै सन् २०१८मा पहिलोपटक घोषित सुपर लिगको सुरुवाती मितिका बारेमा सोमबार मात्र एक कार्यक्रम मार्फत जानकारी गरायो ।
सुपर लिगमा एकदिवसीय वरियताका शीर्ष १२ टोली सहित आइसिसी विश्व क्रिकेट लिग च्याम्पियासिप २०१५-१७ को विजेता नेदरल्यान्ड्सको सहभागिता रहनेछ । भारत आयोजकका रुपमा स्वतः विश्वकपका लागि छनोट हुने र लिगको समाप्तिसम्म शीर्ष ७ मा रहने टोलीहरु विश्वकपका लागि सिधै छनोट हुनेछन् । तालिकाका तल्ला ५ टिममध्येबाट शीर्ष दुइ टोलीसहित अन्य एसोसिएट राष्ट्रहरुले विश्वकप छनोट खेल्ने छन् जसबाट दुइ टोली विश्वकपका लागि छनोट हुनेछन् ।
अब एकदिवसीय वरियताको शीर्ष १२ मा नरहेको नेपालले विश्वकप खेल्ने सम्भावनाका बारेमा चर्चा गराैं ।
नेपालले अहिले आइसिसी विश्व क्रिकेट लिग २ खेलिरहेको छ जसमा नेपालसहित स्कटल्याण्ड, युएई, नामिबिया, ओमान, पपुवा न्यु गिनी र अमेरिका पनि प्रतिष्पर्धा गरिरहेका छन् । यी ७ टिम मध्येबाट नेपाल शीर्ष ३ मा पर्न सकेमा सोझै विश्वकप छनोटमा पुग्ने छ ।
दुर्भाग्यवश् नेपाल शीर्ष ३ मा पर्न नसकेको खण्डमा पनि अर्को बाटो भने हुनेछ । अलि लामो र कठिन यात्रा तय गर्नुपर्ने गरी लिग २ का बाँकी ४ टिमहरुले २१ देखि ३२ औं वरीयताका टिमहरुको च्यालेन्ज लिग बाट आएका शीर्ष २ टोलीसँग प्लेअफ खेल्नेछ । प्लेअफबाट शीर्ष २ टोली पनि विश्वकप छनोट खेलमा प्रवेश गर्नेछन् । लिग २ को शीर्ष ३ मा नपरे नेपाल प्लेअफको शीर्ष दुइमा रहँदै विश्वकप छनोटमा जाने प्रयासमा रहने छ ।

