स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोनाले लिग लिडर रियल मड्रिडमाथि दबाब कायमै राखेको छ । शनिबार रातिभएको लिगको ३६औं साताको खेलमा बार्सिलोनाले अवे मैदानमा रियल भाल्लाडोलिडमाथि ०–१ को साँघुरो जित निकाल्यो । योजितपछि बार्सिलोनाले रियलसँगको अंक दूरी ४ बाट १ मा झारेको छ । तर, रियलले एक खेल कम खेलेको छ ।
भाल्लाडोलिडले आफ्नो घरमा उत्कृष्ट प्रदर्शन गरे पनि उसले गोल खाएपछि गोल फर्काउन नसक्दा आफ्नै घरमा नतिजा गुमायो । निकैप्रतिस्पर्धात्मक खेलको १५औं मिनेटमा बार्सिलोनाका लागि अर्टुरो भिडालले गोल गरेका थिए । मेस्सीको असिस्टमा भिडालले कडा प्रहारमा निकै सुन्दर गोल गरेका थिए ।
अब यो जितपछि बार्सिलोनाले लिगका ३६ खेलबाट कूल ७९ अंक जोडेर दोस्रो स्थानमा छ । ऊ एक खेल कम खेलेको रियलभन्दा अझै१ अंकले पछि नै छ । यता, पराजित भाल्लाडोलिड समान खेलपछि ३९ अंकसहित १४औं स्थानमा यथावत छ ।

