काठमाडौं, असार १
स्पेनिस ला लिगा फुटबलमा आज दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । कोरोना भाइरसपछि लिग सुचारु भएपछि एथ्लेटिको मड्रिड र रियलमड्रिडले पहिलोपटक आज आ–आफ्नो खेल खेल्दैछन् । जहाँ यी दुवै टोली कोरोनाका कारण फुटबल ठप्प भएको ९७ दिनपछि मैदानफर्किंदा लिगको २८औं साताका खेल खेल्नेछन् ।
आज हुने पहिलो खेलमा एथ्लेटिक क्लब र एथ्लेटिको मड्रिडको भिडन्त हुनेछ । यो खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेदेखिएथ्लेटिक क्लबको घरेलु मैदानमा हुनेछ । हाल अंक तालिकामा एथ्लेटिको मड्रिड २७ खेलपछि ४५ अंक जोडेर छैटौं स्थानमा छ भनेएथ्लेटिक क्लब ३७ अंकसहित १०औं स्थानमा छ ।
जारी सिजन टप–४ मा रहन ठूलै संघर्ष गरिरहेको एथ्लेटिको मड्रिडका लागि आज अवे मैदानमा हुने यो खेल ज्यादै महत्त्वपूर्ण हुनेछ । यदिउसले आज यो खेल स्पष्ट अन्तरमा जित्न सके उसले अंक तालिकामा सुधार गर्नेछ ।
रियलका लागि आजको यो खेल अति नै महत्त्वपूर्ण छ । ऊ हाल एक खेल बढी खेलेको बार्सिलोनाभन्दा ५ अंकले पछि छ । गत रातिबार्सिलोनाले आफ्नो खेलमा मालोर्कालाई ०–४ ले हराएर रियलसँगको अंक दूरी २ बाट ५ बनाएको छ । तसर्थ, आज रियलमाथि कुनैपनि हालतमा स्पष्ट जित आवश्यक पर्नेछ । एइबारमाथि स्पष्ट जित निकाले बार्सिलोनासँगको अंक दूरी पुनः २ मै झर्नेछ ।
तर, यदि पराजित भए वा बराबरीमा रोकिए त्यसको सोझो फाइदा बार्सिलोनालाई पुग्नेछ । र, रियललाई उपाधि होडमा ठूलो झाट्कालाग्नेछ । तसर्थ, रियल आज कोरोनापछिको पहिलो खेल खेल्दा उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली नतिजाको खोजीमा हुनेछ । उपाधिहोडमा बार्सिलोनामाथि दबाब बनाइराख्न पनि रियलका लागि अब हरेक खेल उत्तिकै महत्त्वपूर्ण हुनेछन्, जबसम्म बार्सिलोनाले कुनै खेलगुमाउँदैन ।

