अशोक बहादुर टन्डन -विश्वमा प्रबिधिको प्रयोगले आज बिश्वनै साघुरिएको अवस्था छ।आज बिश्वको जुनै कुनामा बसेर प्रबिधिको प्रयोग गरि ब्यापार ,ब्यबसाय तथा जनसम्पर्क स्थापित गर्न सकिन्छ ।यस्तै प्रयोगको रुपमा नेपालमा पनि शेयरबजारमा अहिले नविनतम प्रबिधि प्रयोग गरी अनलाईनबाट शेयर कारोबारका लागि प्रबिधिको प्रयोग गरि कारोबारलाई सहजता पर्दान गरेको छ। नेपालमा शेयरबजारको काम गर्ने एक मात्र आधिकारिक सस्था नेपाल स्टक एक्सचेञ्ज यस्तो प्रबिधिको प्रयोग भित्र्याएको छ ।जस्को कारण अहिले नेपाल बाट मात्र होइन विभिन्न पेसा ,ब्यबसाय ,अध्यनको लागि बिदेशमा बसिरहेका आम नेपाली नागरिकलाई पनि शेयरबजारमा कारोबार गर्न र यससम्बन्धी जानकारी पाउन सहजता भएको छ । नेपाल स्टक एक्सचेन्जले ईन्टरनेटको माध्यमबाट बिदेश ,घर वा कार्यालयमा बसेर शेयर कारोबार गर्न सकिने पूर्ण अनलाईन कारोबार प्रणाली शुरुपछि लगानीकर्ताहरुलाई धेरै सुबिधा भएको छ ।
बिदेशमा बसि नेपालमा लगानीको स्रोत खोज्नु भएको छ वा दीर्घकालीन रिट्न आउने बाटो खोज्नु भएको छ भने एउटा लगानीको क्षेत्र शेयर बजारपनि हो। तपाईंहरु पनि वैदेशिक रोजगार वा ब्यबसाय गर्न बिदेशमा हुनुहुन्छ भने नेपालको शेयरबजारमा लगानी गरि फाइदा लिन सक्नुहुन्छ ।
जान्नुहोस प्रबिधि सङ्ग जोडिएर कसरी गर्ने शेयर कारोबार
अनलाईन कारोबार जोडिनुहोस
तपाइँ प्रविधिमा अभ्यस्त र शेयर कारोबारमा अनुभवी हुनुहुन्छ भने आफुले कारोबार गर्दै आएको शेयर दलालको कार्यालयमा जानुहोस् र ग्राहक पहिचान विवरण अद्यावधिक गराउनुहोस् । तपाईको ग्राहक पहिचान विवरणमा शेयर राख्ने हितग्राही खाता, बैंक खाता, संचालनमा रहेको ईमेल ठेगाना, मोबाईल नम्बरसहितका अत्याबश्यक विवरणहरु हुनैपर्छ । तपाइँले आफ्ना विवरणहरु अद्यावधिक गराईसकेपछि शेयर दलालले तपाइँको इमेल ठेगानामा कारोबार संकेत चिन्ह (युजर नेम) र अनलाईन कारोबारका लागि नेप्सेको वेभसाईटको लिंक पठाउने छ । आफ्नो ईमेल खोलेर हेरेपछि त्यो लिंकमा गोप्य नम्बर (पासवर्ड) परिवर्तनका लागि आफ्नो कारोबार संकेत चिन्ह र ईमेल ठेगाना टाईप गरी अनुरोध गर्नुपर्नेछ । फेरि आफ्नो ईमेल ठेगानामा पासवर्ड परिवर्तका लागि अर्को लिंक प्राप्त हुनेछ र त्यो लिंकमा क्लिक गरी निर्देशन अनुसार पासवर्ड परिवर्तन गर्नुपर्नेछ । आफ्नो युजरनेम र परिवर्तन गरिएको पासवर्डको माध्यमबाट “वन टाईम पासवर्ड”का लागि अर्को अनुरोध गर्नुपर्नेछ । फेरि ईमेलमा वन टाईम पासवर्ड प्राप्त हुनेछ र त्यसलाई तोकिएको स्थानमा प्रविष्ट गरेपछि शेयर कारोबारका लागि अगाडि बढ्न ढोका खुल्नेछ ।तपाई बिदेशमा हुनुहुन्छ भने इन्टरनेट को माद्यम बाट यो सबै काम गर्न सक्नुहुनेछ ।
प्रबिधिको प्रयोगलाई सहजीकरण गर्नुहोस
माथिका प्रक्रिया र चरणहरु अबलम्बन गर्नु झंझटिलो जस्तो लाग्नसक्छ तर नेप्सेको अनलाईन कारोबार प्रणालीको सुरक्षाका लागि यी प्रक्रियाहरु अनिबार्य बन्न गएको हो । केही समय अभ्यास गरेपछि अनलाईन कारोबार प्रणालीमा अभ्यस्त हुन सकिने नेप्सेका बरिष्ठ प्राविधिज्ञ निरन्जन नायक बताउँछन् । लगानीकर्तालाई अभ्यस्त बनाउँन र प्रणालीलाई सुधार गर्न नेप्सेले केही दिनअघि मोक ट्रेडिड. पनि गराएको थियो, त्यसमा संलग्न नभएकाहरुका लागि प्रणालीको प्रयोग जटिल जस्तो लाग्नसक्छ, प्रयोगका लागि अभ्यास जरुरी छ।कम्युटर प्रणालीमा अभ्यस्त नभएकाहरुका लागि पूर्ण अनलाईन कारोबार प्रणाली प्रयोग गर्नु निकै चुनौतिपूर्ण अबश्य छ । प्रबिधि जान्दै नजान्नेका लागि नेप्सेको पुरानै कारोबार प्रणाली पनि संचालनमा रहने हुनाले शेयर दलालको कार्यालयबाट पूर्ववत जस्तै कारोबार गर
यो प्रणालीले कसरी काम गर्छ जान्नुहोस
पूर्ण अनलाईन कारोबार प्रणालीमा सम्बन्धित लगानीकर्ताको हितग्राही खाता शेयर दलालको कारोबार ब्यवस्थापन प्रणालीसँग ईन्टरनेटको माध्यमबाट जोडिएको हुन्छ । लगानीकर्ताले पठाएको खरिद वा बिक्रीको आदेश शेयर दलालको कार्यालयमा हुने कारोबार ब्यवस्थापन प्रणाली हुँदै नेप्सेको अनलाईन कारोबार प्रणालीको म्याचिड. प्रणालीसँग मिलेपछि कारोबार हुुन्छ ।
लगानीकर्ताले आफ्नो युजरनेम र पासवर्डको माध्यमबाट किनबेच प्रक्रियामा सहभागी हुँदा प्रणालीले उसको हैसियत र कारोबार सिमा स्वतः जाँच गर्ने ब्यवस्था गरिएको छ । लगानीकर्ताले आफ्नो हितग्राही खातामा रहेको शेयर मात्र बेच्न पाउने हुँनाले क्लोज आउटमा पर्ने संभावनाको अन्त्य हुनेछ । बैंक तथा बित्तीय संस्थामा रोक्का रहेको शेयर बिक्री गर्न भने अनलाईन कारोबारबाट तत्काल संभव नरहेको नेप्सेका अधिकारीहरुले जनाएका छन् । यसका लागि पुरानो कारोबार प्रणाली नै अबलम्बन गर्नुपर्ने हुन्छ । शेयर खरिद गर्दा शेयर दलालको कार्यालयले सम्बन्धित लगानीकर्तालाई दिएको सिमा (लिमिट) भित्र रहेर मात्र कारोबार गर्नुपर्ने हुँदा शेयर दलालको कार्यालयमा अग्रिम रुपमा रकम बुझाई आफ्नो कारोबार सिमा .लिनुपर्ने हुन्छ ।
बैंक खाता र रकम स्थानान्तरण सम्बन्धि जान्नुहोस
लगानीकर्ताको बैंक खाता, क्लियरिड. बैंकको बैंक खाता र शेयर दलालको बैंक अहिले अन्तर आबद्धता नभएकाले स्वतः रकम स्थानान्तरणमा अहिले जटिलता छ । शेयर किन्न चाहेको पैसा सोझै लगानीकर्ताको खाताबाट नकाटिने हुँदा शेयर दलालकोमा पहिले नै रकम बुझाएर लिमिट लिनु नै अहिलेको विकल्प हो । नेपाल राष्ट्र बैंकले शेयर कारोबारको हकमा रकम स्थानान्तरणमा कुनै सिमाबन्दी लागु नहुने निर्णय गरिसकेको र क्लियरिड. हाउस, क्लियरिड. बैंक र सम्बद्ध पक्षहरुबीच रकम स्थानान्तरणमा सहजीकरणको प्रयास भईरहेको नेप्सेले जनाएको छ । यो समस्या समाधान नहुँदासम्म आफुले कारोबार गर्ने शेयर दलालले बैंक खाता प्रयोग गरेको बैंकमै खाता खोली अनलाईनबाट रकम स्थानान्तरण गर्ने वा चेकद्धारा ब्रोकर वा लगानीकर्ताको खातामा रकम पठाउने विकल्पहरु अहिले प्रयोगमा आउँनसक्ने बताईन्छ ।
बिक्री गरेको शेयर कसरी ब्रोकरलाई पठाउने जान्नुहोस
पूर्ण अनलाईन कारोबार प्रणाली शुरु हुनुभन्दा अगाडि नै सीडीएस एण्ड क्लियरिड.ले कागजी निर्देशन पुर्जीको सट्टा बिद्युतीय निर्देशन पूर्र्जी कार्यान्वयनमा ल्याएर सहजीकरण गरिसकेको छ । लगानीकर्ताले अनलाईन कारोबार प्रणाली वा पुरानै प्रणालीबाट बिक्री गरेका शेयरहरु मेरो शेयर सफ्टवेयरको माध्यमबाट शेयर दलालको कार्यालयमा सिधै पठाउँने ब्यवस्था भईसकेको छ । शेयर बिक्री गरेको दोस्रो दिन राति १२ बजेभित्रमा शेयर दलाललाई पठाईसक्नुपर्छ ।
उच्च गतिको ईन्टरनेट प्रयोग गर्दा सहजता
नेप्सेको पूर्ण अनलाईन कारोबार प्रणाली प्रयोग गर्न चाहनेले उच्च गतिको ईन्टरनेटको सहायता लिएमा छिटो हुनसक्छ नत्र प्रणालीगत र प्राविधिक समस्यामा उल्झनमा पर्न सकिन्छ ।
विदेशमा बसेर पनि अनलाईन कारोबार गर्न के गर्नुपछ जान्नुहोस
विदेशमा रहेका नेपालीले समेत पूर्ण अनलाईन कारोबार प्रणालीबाट शेयर खरिद र बिक्री गर्नसक्ने तर त्यसका लागि आबश्यक प्रक्रिया पुरा गरी युजर आईडी र पासवर्ड लिएको हुनुपर्नेछ । ईन्टरनेट भएको जुनसुकै ठाउँमा बसेर कम्प्युटर, ल्यापटप र मोबाईलबाट कारोबारमा संलग्न हुन सकिन्छ । यसरी गरिएको हरेक कारोबार र दिईएका आदेशहरु प्रणालीमा लिपिबद्ध हुने हुँदा कसैले पनि ठगी र बदमासी गर्ने तथा झुट बोलेर छल्न सक्ने छैनन् ।
तर गैर आवासीय नेपालीलाई पूँजी बजारमा सिधा प्रबेश दिने बारेमा नियम कानुन अहिलेसम्म नबनेको र धितोपत्र बोर्डले कार्यविधि पनि नबनाएको हुनाले त्यसम्बन्धी अन्योल अझै कायम छ ।
अनलाईन कारोबार प्रणालीका बारेमा जान्नुपर्ने अति आबश्यक कुरा
पूर्ण अनलाईन कारोबार प्रणाली सफ्टवेयरका २० वटा अलग अलग भागहरु मिलेर बनेका छन् जसलाई मोड्युलहरु भनिन्छ । यसमा एउटा भागमा खराबी आयो भने पनि अर्को भागले काम गरिरहेको हुन्छ र कुनै पनि सफ्टवेयरलाई आबश्यकता अनुसार बदल्न, थप्न र हटाउँन सकिन्छ ।
नेपालमा शेयरबजारको काम गर्ने आधिकारिक सस्था नेपाल स्टक एक्सचेञ्जले प्रबिधिको प्रयोग गरि सकेपछि बिश्वको जहाँसुकै बसेर पनि शेयर बजारमा आवद्ध भइ कारोबार गरि फाइदा लिन सकिन्छ ।

