एजेन्सी – मर्सिसाइड डर्बी अन्तर्गत लिभरपुल र एभर्टनबीचको खेल एभर्टनको मैदान गुडिसन पार्कमै गराउने तयारी गरिएको छ । न्युट्रलभेन्युमा खेलाउने तयारी रहेपनि मर्सिसाइडको नगर परिषदको सुरक्षा सल्लाहकार समूहले गुडिसन पार्कमा खेलाउन सुरक्षित हुने बताएकाछन् ।
एभर्टनविरुद्धको खेल लिभरपुलको सम्भावित उपाधिको खेलको रुपमा रहेका कारण त्यहाँ लिभरपुलका समर्थकहरुको बाक्लो उपस्थितिहुने अनुमान गरिएको थियो । खेल २१ जुनमा गुडिसन पार्कमै गर्ने योजना अघि बढेको छ । २०० माइल टाढा साउथह्याम्पटनमा भन्दा दुवैपक्षले गुडिसन पार्कमै खेल गराउन उचित ठानेका छन् ।
यसैबीच मर्सिसाइड प्रहरीले लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेल गराउनको लागि स्वीकृति दिएको छ । यसो हुन सकेमालिभरपुलले घरेलु सहरमा नै च्याम्पियन बन्नेछ । लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधि जित नजिक छ ।
लिभरपुललाई केवल दुई जितको खाँचो रहेको छ । तर, दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी आर्सनलविरुद्ध पराजित भए एकजितबाटै लिभरपुल च्याम्पियन बन्न सक्नेछ । लिभरपुलले दोस्रो स्थानको सिटीलाई २५ अंकले पछि पारेको छ । लिभरपुलको २९खेलबाट ८२ अंक छ । २८ खेल खेलेको सिटीको ५७ अंक छ ।

